• ९ वैशाख २०८२, मङ्गलबार

देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रमुख भट्ट

blog

सन्तोष सुवेदी

कास्की, माघ १६ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरूलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ। सहिद दिवस २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापनालगायतका न्यायपूर्ण आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रदेश प्रमुख भट्टले निरङ्कुश तानाशाही व्यवस्थाविरुद्धको सङ्घर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदको सपना पूरा गर्न दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सन्देशमा भनिएको छ, ‘आजको दिन नेपाल र हामी सबै नेपालीको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो । महान सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतको बलिदानद्वारा प्राप्त भएको प्रजातन्त्रदेखि इतिहासको विभिन्न कालखण्डमा योद्धाहरूको योगदानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्त भएको छ ।’

यो दिवसले राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत्त प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।