• ७ वैशाख २०८२, आइतबार

विकास योजनाको प्रभाव देखिँदैछ : नेता शर्मा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा।

दिवाकर पोख्रेल

देउखुरी, माघ १६ गते । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूहरू नेतृत्वको सरकारले गरेका कामको परिणाम अहिले देखिन थालेको बताउनुभएको छ । 

नेकपा  (माओवादी केन्द्र)का स्थायी समिति सदस्य  शर्माले सरकारमा रहँदा दाङको विकासका लागि अघि सारिएका योजना अहिले प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीको तेस्रो नगर अधिवेशनको उद्घाटन गर्दै नेता शर्माले सरकारमा रहँदा प्रदेश तथा सङ्घीय स्तरमा विकास निर्माणका महत्त्वपूर्ण काम गरिएको उल्लेख गर्नुभयो। 

उहाँका अनुसार, सडक पूर्वाधार, विद्युत् सेवा विस्तार, सिंचाइ तथा शिक्षा क्षेत्रका परियोजनामा सरकारले प्राथमिकता दिएको थियो, जसका सकारात्मक परिणाम अहिले देखिन थालेका छन्।

नेता शर्माले दाङ भूगोलका हिसाबले ठुलो जिल्ला भएकाले यहाँको समग्र विकासका लागि निरन्तर पहल आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार, सङ्घीय र प्रदेश सरकारका सांसदले दाङका प्रमुख समस्या संसदमा उठाइरहेका छन्, जसले विकासका विषयलाई प्राथमिकता दिन सरकारलाई दबाब दिने भूमिका खेलेको छ।

सरकारमा रहँदा दाङका सडक सञ्जाल विस्तार, स्थानीय तहमा आधारभूत पूर्वाधार निर्माण तथा कृषि र सिंचाइका क्षेत्रमा नीति निर्माण गरिएको भन्दै शर्माले ती योजना निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो। 

सरकारको सुशासन नीति अन्तर्गत सरकारी जग्गा तथा सम्पत्तिको खोजबिन गर्दा कतिपयलाई असहज महसुस भएको नेता शर्माले बताउनुभयो। उहाँका अनुसार, भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कडा कदम चालेको छ, तर केही व्यक्ति यसबाट असन्तुष्ट बनेका छन्।

उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा प्रतिनिधि सभाका उपसभामुखलाई हटाउने प्रयासप्रति असन्तोष जनाउँदै सरकारलाई सही निर्णय लिन आग्रह गर्नुभयो।

पार्टी पुनर्गठनबारे बोल्दै शर्माले नयाँ नेतृत्व चयनका क्रममा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्दै मैत्रीपूर्ण वातावरणमा नगर कमिटी गठन गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीप्रति उत्तरदायी जनप्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै, जनताको आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने योजनामा सक्रिय रहन निर्देशन दिनुभयो।

शर्माले नेकपा (माओवादी केन्द्र) ले नयाँ ऊर्जा लिएर जनतासँगको सम्बन्ध अझ सशक्त बनाउने नीति लिएको बताउँदै, पार्टीलाई बलियो बनाउन सबै सदस्य सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।