अमरराज नहर्की
तनहुँ, माघ १६ गते । व्यास नगरपालिकाको आयोजनामा बुधबार आयोजना गरिएको महिला हाफ म्यारथन प्रतियोगिताको उपाधि रोल्पाकी आस्मा विकले जित्नुभएको छ । विकले १ घण्टा ५७ मिनेट ३४ सेकेन्डमा व्यास नगरपालिका–३ दमौलीस्थित व्यास गुफा देखि व्यास नगरपालिका-११ को ऐतिहासिक तनहुँसुर सम्मको २१ किलोमिटर दुरी पार गरि प्रथम हुनु भएको हो ।
त्यसैगरी ओखलढुङ्गाकी लक्पा डिङ्मा शेर्पाले २ घण्टा ४ मिनेट ५३ सेकेन्डमा पार गरी दोस्रो हुनुभयो । प्रतियोगितामा काठमाडौंकी बिमला तामाङ तृतीय हुनुभयो । तामाङले २ घण्टा १२ मिनेट ३८ सेकेन्डमा पूरा गर्नु भएको छ । सात्वना हुनेहरूमा व्यास नगरपालिका–१० कि नम्रता गुरुङ, व्यास नगरपालिका–४ की सन्ध्या अधिकारी, व्यास नगरपालिका–१४ कि अस्मिता थापा, व्यास नगरपालिका–३ की सङ्गीता रानाभाटा र व्यास नगरपालिका–११ की युना मजकोटी हुनुहुन्छ ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै लगायतले सयुक्त रूपमा नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ८१, द्धितीयलाई ३१ हजार ८१, तृतीयलाई २१ हजार ८१ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही रु ११ हजार ८१ रुपियाँ प्रदान गरिएको थियो ।
भगवान वेदव्यासको जन्मभूमि, पराशर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुर दरबारको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने तथा खेलाडीलाई हौंसला प्रदान गर्ने उद्धेश्यले दौड प्रतियोगिता गरिएको नगरपालिकाले जनाएको छ ।
व्यासगुफादेखि अनसन चौतारी, जिल्ला प्रहरी कार्यालयको पछाडिबाट न्यूरोड भेटघाटचोक हुँदै, गणेशमानचोक, सत्यवती मावि, मालपोतलाइन, सफासडक हुँदै, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरैपँधेरा, पोल्याङ, पराजुलीचोक, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, पत्यारथोक, गङ्गलथोक, चण्डीथान, हटिया, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमीको रहनेछ ।
व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा सांसद आलेले यस्ता प्रतियोगिताले खेलाडीको मनोवल बढाउन टेवा पुग्ने बताउनुभयो । साथै उहाँले स्थानीय स्तरका खेलाडीलाई यस्ता प्रतियोगिताले क्षमता वृद्धिका लागि मद्दत गर्ने हुँदा निरन्तरता दिइनु पर्ने बताउनुभयो ।