मीना कंडेल
कावासोती, माघ १६ गते । नवलपुरको त्रिवेणीधाम धार्मिक, ऐतिहासिक गन्तव्य बन्दै गएको छ । स्वर्णभद्रा, पुर्णाभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाममा माघेऔँसीमा विभिन्न स्थानबाट स्नान गर्न भक्तजन्हरूको भीड लाग्ने गरेको छ ।
तीन नदीको सङ्गम त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । उक्त धामको धार्मिक एवं ऐतिहासिक महत्वबारे अवलोकन तथा पूजापाठका लागि भारतका विभिन्न स्थानबाट ७० प्रतिशत भन्दा बढी धार्मिक पर्यटकको आवागमन हुने गरेको त्रिवेणी गजेन्द्रमोक्ष क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालले बताउनुभयो ।
मेलाको अघिल्लो दिन देखी मेलामा नेपाल तथा भारतका करिब तीन लाख भक्तजन त्रिवेणीधाममा आएको उहाँले बताउनुभयो । भारतको उत्तरप्रदेश , बिहार लगायतको क्षेत्रबाट यहाँ आउने धार्मिक पर्यटनको संख्या अत्याधिक हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको साथै नागरिक सहायता कक्ष राखी सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनु भयो ।
सुरक्षा व्यवस्थापनका लागि करिब एक सय प्रहरी खटिएको उहाँले बताउनुभयो । मेलालाई व्यवस्थित बनाउन खानेपानी,शौचालय ,सडकबत्ती र ४ स्थानमा स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।
परापूर्वकालमा हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष दिव्यधाम भन्ने गरिएको स्वामी कृष्ण प्रपन्नाचार्यको भनाइ छ । माघे औंसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन छ ।
त्रिवेणी क्षेत्र त्रेता युगमा वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान ऐतिहासिक धार्मिकस्थल समेत भएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो । उक्त धाममा भारतका विभिन्न तीर्थस्थलबाट ल्याइएका शान्ति सर्वसिद्धि कलशको जल पनि आर्कषणको रूपमा रहेको छ ।
यस कलशलाई १०८ पटक परिक्रमा गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ । करिब १३ बिघा क्षेत्रफलमा फैलिएको यस धाममा अहिले आधुनिक संरचना बन्नाका साथै अर्को शिशामहलले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।