• ७ वैशाख २०८२, आइतबार

‘सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ’

blog

सहिद दिवसका अवसरमा घोराहीमा आयोजना आयोजित कार्यक्रममा सहभागीहरू । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, माघ १६ गते ।
सहिदका सपना पूरा गर्नका लागि जनताको अवस्था बदल्ने गरी सरकारले काम गर्नुपर्ने वक्ताहरूले जोड दिनुभएका छन्  ।

सहिद दिवसका अवसरमा बुधबार घोराहमा सहिद दिवस जिल्ला समारोह समिति दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले सहिदको त्याग र बलिदानीका कारण राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर बदलिन नसकेको भन्दै जनताको अवस्था बदल्ने गरी जनप्रतिनिधि र कर्मचारीले विशेष ध्यानदिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्नुहुँदै घोराही घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सहिदको त्याग र बलिदानीका कारण परिवर्तन सम्भव भएको बताउनुभयो । जनताको अवस्था परिवर्तनका लागि मन्त्रीसँगै जनप्रतिनिधि र कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताउनुहुँदै उहाँले भन्नुभयो, ‘‘जनतासँग प्रत्यक्ष जोडिने सरकारका मन्त्रीसँगै जनप्रतिनिधि र कर्मचारीहरु हुन् । जनप्रतिनिधि र कर्मचारीले जनताले चाहे अनुसारको काम गर्न आवश्यक छ ।’’

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै जनताको अवस्था परिवर्तन गर्नका लागि जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको भन्दै उहाँले एक्लाएक्लै भएर नहुने भएकाले सकारात्मक सोचका साथ सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । जनताले चाहे जस्तो परिवर्तनको अनुभूति गर्न नपाउँदा जनतामा निराशा बढेको भन्दै निराशा हटाउनका लागि सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा राम्रो काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकरी कृष्णप्रसाद लम्सालले सहिदका सपना पूरा गर्नका लागि राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने बताउनुभयो । जुन माग र उद्देश्य राखेर सहिदले आफ्नो बलिदानी गर्नुभयो त्यो उद्देश्य पूरा गर्नका लागि गम्भीर रुपमा लाग्नुपर्ने बताउनुभएको हो । 

नेकपा (एमाले) दाङका जिल्ला उपाध्यक्ष महोहर बुढाथोकीले अभिव्यक्ति स्वतन्त्रतासँगै राजनीतिक परिवर्तनका लागि ज्यान दिने सहिदको त्यागका कारण आजको परिवर्तन आएको भन्दै परिवर्तनलाई सस्थागत गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । व्यवस्थामा भएका कमिकमजोरीलाई सुधार गर्दै  जनताको उपलब्धिलाई संस्थागत गर्दै लाग्नुपर्ने बताउनुभएको थियो ।

सहिद दिवसका अवसरमा घोराहीमा प्रभातफेरीको समेत आयोजना गरिएको थियो । घोराही उपमहानगरपालिकाको कार्यालयबाट सुरुभएको र्‍याली बजारका विभिन्न भागको परिक्रममा गर्दै सहिदगेट पुगेको थियो । र्‍यालीमा जनप्रतिनिधि, प्रहरी, नेपाली सेना, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।