फडिन्द्र अधिकारी
लेखनाथ, माघ १६ गते । पोखरामा अहिले भूमिगत तारबाट घर घरमा बिजुली बल्न थालेको छ । यद्धपि पोखरा महानगरको रङ्गशालादेखि अमरसिंह चोकसम्मको सडकको उत्तरतर्फ बिजुलीका पोल छैनन् । पोल नभएपछि गुजुमुज्ज तार पनि छैन र सडकमाथिको आकाश खुला छ ।
पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत केही दिनअघि यहाँका घरमा भूमिगत प्रसारण लाइनबाट बिजुली जोडिएको हो । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहेकाले बाटो भने धुलाम्मे र भत्किएको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदी यही हप्ताभित्र थप दुई सय पचास घरमा भूमिगत प्रणालीबाट बिजुली जोडिने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “सडकको उत्तरतर्फका एक सय बिस घरमा भूमिगत तारबाट बत्ती जडान भइसकेको छ । अबको एक हप्ताभित्रै दक्षिणतिरका थप दुई सय पचास घरमा पनि जोडिन्छ ।” परियोजना अन्तर्गत पोखराको प्रगति ५७ प्रतिशत र भरतपुरको प्रगति ८० प्रतिशत छ । परियोजनाले पर्यटन नगरी पोखराको लेकसाइडलाई खुला तारमुक्त बनाउँदै छ । लेकसाइडका धेरैजसो सडक र केही भित्री सडकमा तार बिच्छ्याउन पाइप राखिसकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि चाइना पुलसम्म तार राखिसकिएको छ । तार बिच्छ्याइसकेका क्षेत्रमा बिजुलीका पोल र तार हटाउन थालिएको छ ।
मुख्य राजमार्गसँग जोडिएका बजार क्षेत्रका सडकका तार पनि भूमिगत गरिने छन् । नयाँबजार हुँदै महेन्द्रपुल, सभागृह हुँदै चिप्लेढुङ्गा, जिरो हुँदै मालेपाटनको सडकमा पनि बिजुलीका पोल हटाइने छन् । विद्युत्सँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छ्याइने छ । प्राधिकरणले बनाएको भूमिगत प्रसारण लाइन प्रयोगको विधि यकिन नहुँदा टेलिफोन, केबल र इन्टरनेट भने भूमिगत प्रणालीबाट सुरु भएका छैनन् । आयोजना प्रमुख सुवेदी भन्नुहुन्छ, “प्राधिकरणले अरूलाई टेलिफोन, केबल, इन्टरनेटका लागि कसरी प्रयोग गर्न दिने भन्ने मोडालिटी तयार हुन बाँकी छ । मोडालिटी तयार भए हामी सेवा दिन सक्ने अवस्थामा छौँ ।”
पोखरामा करिब २२० किमी र भरतपुरमा करिब दुई सय किमीका बिजुली तार भूमिगत बनाइँदै छ । पोखरा उपत्यकाकै बिजुलीका तार भूमिगत गर्न पाँच अर्बभन्दा बढी खर्च हुने प्रमुख इञ्जिनियर सुवेदी बताउनुहुन्छ । २०७८ माघमा यसको ठेक्का लागे पनि छ महिनापछि मात्र पोखरामा काम सुरु भएको थियो । भरतपुरको काम यही वर्षभित्र सकिने र पोखराको काम भने थपिएको म्यादमा पनि सक्न कठिन हुने देखिएको छ । परियोजनाको म्याद २०२४ जनवरी २० सम्म रहेकोमा आठ महिना थप भएको छ ।
यो आयोजनाको पोखरा खण्डको बजेट एक अर्ब ३० करोड रुपियाँ छ । पोखरा वितरण केन्द्र अन्तर्गत विद्युत्का ९४ हजार ग्राहक छन् । परियोजनाका इन्जिनियर मेघराज जोशी संवेदनशीलता र भौगोलिक अवस्थाका कारण काममा केही ढिलाइ भएको बताउनुहुन्छ । जोशी भन्नुहुन्छ, “पोखराको भूगोलका कारण एचडिडी प्रविधिबाट काम गर्न सकिएन, म्यानुअली गर्दा ढिलो भएको छ । बिजुलीका काम सबै एकै पटक गर्न पनि मिल्दैन, बत्ति आपूर्तिलाई पनि ध्यान दिनु पर्छ ।”