तनहुँ समाचारदाता
तनहुँ, माघ १६ गते । पुल निर्माणमा ढिलासुस्ती तथा सडक स्तरोन्नति नभएपछि बुद्धसिंह मार्गमा उपभोक्ता आन्दोलनमा उत्रिएका छन् । आन्दोलित उपभोक्ताले जिल्लास्थित सरोकार कार्यालयको घेराबन्दी गरेका छन् । शान्तिपूर्ण रूपमा नाराबाजी गर्दै प्लेकार्ड बोकेका स्थानीय बासिन्दाले कामलाई गति दिन माग गरेका हुन् ।
स्थानीयले जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयअगाडि प्रदर्शन गरेका छन् । आन्दोलित बासिन्दाले पुल कहिले बन्छ ? सडक कहिले बन्छ ? भन्दै जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयका प्रमुखलाई प्रश्न गर्दै काममा गति दिन माग राखेका छन् । यो मार्गमा पर्ने आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल ११ वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलामा पुल नहुँदा आवतजावतलाई समस्या भएकाले स्थानीय आन्दोलित भएको सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताउनुभयो ।
सङ्घर्ष समितिका संयोजक गर्जा मगरले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले निर्माण काममा ढिलाइ भइरहेको आरोप लगाउनुभयो । उपभोक्ताले बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा पक्की पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् । उक्त मार्गमा रहेका नदी खोलामा पुल निर्माणका लागि दबाब दिन स्थानीयस्तरबाट गठित सङ्घर्ष समितिले राज्यको उदासीनता र ठेकेदारको लापर्बाहीले गर्दा घुमाउनेमा निर्माणाधीन पुल ११ वर्षदेखि अलपत्र रहेको बताएको छ । घुमाउनेमा पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दुरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सङ्घर्ष समितिका मानिससँग सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटक पटक बताउँदै आए पनि व्यवहारमा नउतारेको बरु बेला बेलामा म्याद थप गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।
आधुनिक आर्क डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ रहने बताइएको छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेटौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन । सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठले पुलको डिजाइन परिवर्तन गर्न लागिएकाले पुल निर्माणको काम रोकिएको बताउनुभयो ।