लेखनाथ समाचारदाता
लेखनाथ, माघ १६ गते । गण्डकी प्रदेश सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलताका लागि रणनीति तयार गर्दै छ । प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले जलवायु परिवर्तन रणनीति र कार्ययोजना बनिरहेको उल्लेख गर्नुभयो ।
मङ्गलबार आफ्नो कार्यकालको एक सय दिनका प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “प्रदेशस्तरमा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न वन अनुकूलित ल्याउन प्रादेशिक जलवायु परिवर्तन रणनीति र कार्ययोजनाको मसौदा तयार भएको छ । सरोकारवाला र विज्ञको सुझाव लिएर रणनीति र कार्ययोजनालाई चाँडै अन्तिम रूप दिन्छौँ ।”
गण्डकीमा आठ लाख १७ हजार हेक्टर वन क्षेत्र छ । मन्त्री पौडेलले वनलाई आयआर्जनसँग जोड्ने गरी अघि बढ्न सरकारले तयारी गरिरहेको उल्लेख गर्नुभयो । सरकार अन्तर्गतका ११ वटै डिभिजन वन कार्यालयलाई कम्तीमा एक नमुना आयोजना सुरु गर्न निर्देशन दिइएको उहाँको भनाइ छ । ससाना पार्क बनाउने र तीनको संरक्षण नहुने अवस्थालाई हटाउँदै नमुना पार्क बनाउने सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ छ ।
यो वर्ष एक करोड १० लाख रुपियाँ वन्यजन्तु पीडितलाई क्षतिपूर्तिका लागि निकासा भएको उहाँले खुलाउनुभयो । यो आर्थिक वर्षमा वन मन्त्रालयको वित्तीय प्रगति २७.३६ प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ । यसपालि पुँजीगत बजेट शतप्रतिशत खर्च गर्ने लक्ष्य मन्त्री पौडेलले सुनाउनुभयो ।
मन्त्रालयका सचिव जीवनाथ पौडेलले हालै सरकारले रातो बाँदरलाई कृषिका लागि हानिकारक जनावरमा सूचीकरण गरेकाले बाँदर आतङ्क कम गर्न यसले सघाउने अपेक्षा गर्नुभयो । मन्त्रालयले ढलापडा रुख सङ्कलन गर्न नीतिगत निर्णय गरेको छ भने डिभिजन वन कार्यालय स्याङ्जाको रणनीति योजनाको प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत भएको छ ।
डिभिजन वन कार्यालय लमजुङको आवधिक योजनासहितको रणनीति योजना स्वीकृतिको अन्तिम चरणमा छ । मन्त्रालयले वन्यजन्तु उद्धार तथा व्यवस्थापन केन्द्र सञ्चालन कार्यविधिको मसौदा तयार गरेको छ । वन मन्त्रालयले गण्डकी प्रदेश वन नियमावली २०८१ संशोधनका लागि मन्त्रीपरिषद्मा पठाइएको सचिव पौडेलले जानकारी दिनुभयो । हिउँदयाममा लाग्न सक्ने डढेलो नियन्त्रणका लागिसमेत तयारी थालिएको उहाँको भनाइ छ ।