• ७ वैशाख २०८२, आइतबार

भत्किन थाले स्मार्ट रिफ्रेस सेन्टरका संरचना

blog

रिफ्रेस सेन्टरको भत्किएको पर्खाल । तस्बिर : छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, माघ १६ गते । रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा निर्माण सम्पन्न नहुँदै स्मार्ट रिफ्रेस सेन्टरको संरचना भत्किन थालेको छ । चार वर्षअघि २०७७ साल मङ्सिर १२ गते शिलान्यास गरिएको स्मार्ट रिफ्रेस सेन्टर बजेट अभावमा निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ भने पर्खाल भत्किएको छ । 

लुम्बिनी प्रदेश सरकारको लगानीमा बन्दै गरेको रिफ्रेस सेन्टर पछिल्लो समय प्रदेश सरकारले बजेट विनियोजन नगर्दा निर्माण सम्पन्न नहुँदै भत्किन थालेको हो । रिफ्रेस सेन्टरको वरिपरि लगाइएको पर्खाल ठाउँ ठाउँमा चिरा परेर भत्किन थालेको छ भने चौरभरि बिरुवा उम्रिएर जङ्गल बनेको छ । 

स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसन र ड्राइभर रुमलगायतका संरचना बन्ने गरी यसको डिजाइन तयार गरिएको थियो । करिब एक बिघा क्षेत्रफलमा फैलिएको रिफ्रेस सेन्टर साढे तीन करोड रुपियाँको लगानीमा दुई वर्षभित्र २०७९ सालभित्र सम्पन्न गर्ने कार्यतालिका थियो । 

लामो दुरीका सवारीचालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँच वटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा रुपन्देहीको सैनामैनामा रिफ्रेस सेन्टर बनाउन सुरु गरिएको हो ।  रिफ्रेस सेन्टर निर्माणका लागि पहिलो चरणको काम गर्न तीन करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको थियो । रिफ्रेस सेन्टरभित्र पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसनलगायतका काम गर्न बाँकी रहेको छ । 

रिफ्रेस सेन्टरको पहिलो चरणको काम सम्पन्न भएको र दोस्रो चरणको काम गर्न रकम अभावका कारण समस्या परेको रिफ्रेस सेन्टरको रेखदेखको जिम्मा पाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीले जनाएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले रिफ्रेस सेन्टर निर्माण सम्पन्न भएपछि नगरपालिकालाई हस्तान्तरण गर्ने भनिए पनि निर्माणको काम रोकिँदा रिफ्रेस सेन्टर सञ्चालनमा विलम्ब भएको बताउनुभयो । उहाँले सञ्चालन कार्यविधि नभएकै कारण नगरपालिकाले रिफ्रेस सेन्टरको काम गर्न सक्ने अवस्था नरहेको बताउँदै निर्माण सम्पन्न भएपछि प्रदेशले हस्तान्तरण गरे मात्रै आफूहरूले चलाउन सक्ने बताउनुभयो ।