बुटवल समाचारदाता
बुटवल, माघ १५ गते । बुटवल उपमहानगरपालिकाको वडा नं. ३ र ४ मा पर्ने मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा चुरे क्षेत्रको पहिरो नियन्त्रणको काम सुरु भएको छ । बुटवल उपमहानगरले करिब तीन करोड रुपियाँ बजेटमा चुरे क्षेत्रको पहिरो नियन्त्रणका लागि चेकड्याम, रिटर्निङ वाल, ग्याबिन जाली, बक्स कलभर्ट निर्माण गरी पहिरो नियन्त्रणको काम सुरु गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब ३० स्थानमा तारजाली लगाउने र पहिरो रोक्ने काम सुरु भएको बताउनुभयो । नगरप्रमुख पाण्डेयले सो क्षेत्रका करिब तीन सय ५० घरधुरी पहिरोबाट प्रभावित हुने जोखिम रहेकाले पहिरो रोक्न नगरपालिकाले आफ्नै पहलमा प्राथमिकताका साथमा काम थालेको बताउनुभयो । २०५५ साल भदौ २० गते बुटवलको ज्योतिनगर क्षेत्रमा पहिलो पटक पहिरो गएको थियो ।
पहिरो जाँदा पाँच दर्जन घरमा क्षति पुगेको थियो भने पूर्ण क्षति भएका घरपरिवारलाई सरकारले बुटवलकै तामनगरको सामुदायिक वन क्षेत्रमा जग्गा दिएर बसोबासको व्यवस्था मिलाएको थियो । ज्योतिनगरका स्थानीयलाई पहिरोले २६ वर्षअघिदेखि दिँदै आएको पीडा अहिले पनि रोकिएको छैन ।
त्यस क्षेत्रमा हरेक वर्षको वर्षायाममा पटक पटक सानो ठुलो पहिरो खसेको खस्यै छ तर पहिरो रोक्ने स्थायी समाधान नहुँदा समस्या ज्युँका त्युँ नै छ । यसअघि तीन वर्षअघि २०७८ सालमा पनि ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको थियो ।
बुटवल उपमहानगरपालिकाले चुरे क्षेत्रबाट झर्ने पहिरो र गेग्य्रान नियन्त्रण गर्न हरेक वर्ष रोकथामको प्रयास गर्दै आएको छ । बुटवल उपमहानगरले गत वर्ष पनि ग्याबिन जाली लगाउने, खोल्सा सफा गर्ने, पानीको बहावलाई व्यवस्थित गर्ने जस्ता काम गरेको थियो । गत आर्थिक वर्ष बुटवल उपमहानगरपालिका र सङ्घीय सरकारको अनुदान अन्तर्गत चार करोड ५० लाखमा चेकड्याम, रिटर्निङ वाल, बक्स कलभर्टलगायतका जोखिम न्यूनीकरणका लागि संरचना निर्माण गरिएको थियो ।
यो वर्ष पहिरो नियन्त्रणको काम गर्न एमआर देवका जेभीले ठेक्का पाएको छ । पहिरो नियन्त्रणका लागि आगामी जेठ ३० गतेभित्रै निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको बुटवल उपमहानगरले जनाएको छ ।