बुटवल समाचारदाता
बुटवल, माघ १४ गते । रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहले जिल्लाको प्रमुख समस्याका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम मिलेर गर्ने ऐक्यबद्धता प्रकट गरेका छन् । जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको घुम्ती बैठकमा बोल्दै पालिकाका जनप्रतिनिधिले छाडा चौपाया व्यवस्थापनको काम सबै पालिकाका लागि चुनौती बनेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभएको हो ।
जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले घुम्ती बैठकका मुख्य विषयवस्तुबारे प्रकाश पार्दै रुपन्देहीका १६ वटै पालिकाका लागि छाडा चौपाया व्यवस्थापन चुनौती भएकाले यसको समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले किसानले अझै पनि रासायनिक मल समयमै पाउन नसकेको, कृषिसँग सम्बन्धित समस्यालाई एकीकृत रूपमा पहिचान गर्ने उद्देश्यले स्थानीय तहमा लागु गर्न खोजिएको किसान सेवा कार्ड वितरण प्रक्रियाका विषयमा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले घुम्ती बैठकको अध्यक्षता गर्दै रुपन्देहीका १६ वटै स्थानीय तहका लागि छाडा चौपाया चुनौतीकै रूपमा रहेकाले हरेक बैठकमा यस विषयमा छलफल भइरहेको र पालिकाहरू एउटा निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जिल्लाको साझा समस्याका रूपमा रहेको छाडा चौपायाको व्यवस्थापनका लागि १६ वटै स्थानीय तहले योजना र बजेट व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै यो समस्या एउटा पालिकाले भन्दा पनि सबैले मिलेर समाधानतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कञ्चन गाउँपालिकाले आर्थिक, भौतिक, स्वास्थ्य, शिक्षा, राजस्व सङ्कलन र क्षमता अभिवृद्धिका लागि सञ्चालन भएका कामबाट प्राप्त उपलब्धिबारे समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत गौतमले विगतका वर्षमा जस्तै चालु आर्थिक वर्षका सबै योजना वैशाख मसान्तभित्र सक्ने योजना रहेको बताउँदै पालिकाले शून्य बेरुजुको अभियान सफल बनाउन प्रयासरत रहेको बताउनुभयो ।