लीलाधर वली
घोराही, माघ १३ गते । दाङको घोराही उपमहानगरपालिकाले चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ । दक्ष फुटबल प्रशिक्षक उत्पादनसँगै खेलकुद क्षेत्रको संस्थागत विकास गर्ने उद्देश्यले एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको हो ।
प्रशिक्षणमा दाङसहित विभिन्न जिल्लाबाट ४० जनाको सहभागीता रहेको थियो । घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोेजना तथा अखिल नेपाल फुटबल संघ, एन्फाको प्राविधिक सहयोगमा माघको १० गतेदेखि १३ गतेसम्म एन्फा कम्युनिटी कोचिङ कोर्स सञ्चालन भएकोभ भएको घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।
अध्यक्ष पुनका अनुसार कम्युनिटी कोचिङ कोर्समा सहभागीलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसीलगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले स्थानीय स्तरदेखि खेलकुद क्षेत्रको विकाससँगै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरस्तरीय खेलकुद विकास सतिति गठन गरेको बताउनुभयो । समितिले खेलकुदका गतिविधिसँगै पूर्वाधार विकासका लागि काम गरिरहेको बताउनुभएको थियो ।
फुटबल प्रशिक्षणका लागि दाङका २१ जनासहित बाँकेबाट ४ जना, रौटहट र कपिलबस्तुबाट ३–३ जना, रुकुमपूर्व र रोल्पाबाट २–२ जना, स्याङ्जा, रुपन्देही, प्युठान, सुनसरीबाट १–१ जना गरी ४० जना सहभागी भएको थियो । एन्फा कम्युनिटी कोर्सको प्रशिक्षकमा एन्फाका हेड अफ एजुकेशन कोच सञ्जित सिंह र हेड अफ ग्रासरुट पंकजबहादुर शाही रहनुभएको थियो ।