• १४ माघ २०८१, सोमबार

बाघ खोज्न वनमा क्यामेरा जडान

blog

भगवति सामुदायिक वनमा बाघको खोजीका लागि जडान गरिएको क्यामेरा । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ १३ गते । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई तिव्र पारिएको राप्तीसोनारी सबडिभिजन वन कार्यालय बाँकेले जनाएको छ । 

सबडिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माले भगवति सामुदायिक बन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरू गरिएको बताउनुभयो । उहाँले बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सामुदायिक वन क्षेत्रमा बाघ आक्रमणको त्रास बढेको गुनासो गरेपछि क्यामेरा जडान गरिएको बताउनुभयो ।  

निकुञ्ज वरिपरिका वासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताउनुभयो । क्यामेराको सहयोगले बाघको बारेमा सही जानकारी हासिल हुने उहाँले बताउनुभयो ।   

बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जंगली बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि सो वन क्षेत्रमा क्यामेरा जडान गरिएको भगवती सामुदायिक वनका अध्यक्ष टिकाराम वलीले बताउनुभयो । 

बाघलगायतका जनावरबाट जोगिन जनचेतनाका कार्यक्रम गर्ने कार्य पनि जारी रहेको वलीले बताउनुभयो । गत बुधबार राप्तीसोनारी गाउँपालिका –८ की ६७ वर्षीया चेती बुढाको ज्यान बाघको आक्रमणबाट गएपछि सबडिभिजन वन कार्यालयले सो क्षेत्रमा आफ्नो सक्रियता बढाएको छ । 

स्थानीयका अनुसार सो जंगलमा यसअघि बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरू भने देखिने गरेको थियो । यसअघि पनि गाउँलेका १० वटा जति बाख्रा बाघले मारेको थियो । सो सामुदायिक वननजिक बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्छ । बाघ संरक्षणका लागि सरकारद्वारा स्थापना गरिएको बाँके निकुञ्ज देशकै कान्छो निकुञ्ज हो ।