• १४ माघ २०८१, सोमबार

इप्सवीच टाउनमाथि लिभरपुलको सहज जित

blog

गोल गरेपछि लिभरपुलका खेलाडी । तस्बिर : द इन्डिपेन्डेन्ट

काठमाडौँ, माघ १३ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको लिभरपुलले इप्सवीच टाउनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले इप्सवीच टाउनलाई ४–१ गोलले हरायो ।

पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा अर्को गोल थपेको थियो । लिभरपुलको जितमा काड्यो गोक्पोले ४४औँ र ६६औँ मिनेटमा दुई गोल गर्नुभयो । डोमिनिक स्जोबोस्ले ११ औँ र मोहमद ३५ औँ मिनेटमा गोल गर्नुभयो ।

पाहुना टोली इप्सवीचका लागि ज्याकोव ग्रेसले ९०औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै २२ खेलबाट ५३ अङ्क बनाएको लिभरपुल शीर्षस्थानमा यथावत छ । पराजित इप्सवीच १६ अङ्कसहित १८औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनललको २३ खेलबाट ४७ अङ्क छ । शनिबार राति नै भएको खेलमा आर्सनलले वल्भ्सलाई उसैको मैदानमा १–० गोलले हराएको थियो । 

यस्तै शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई ३–१ गोलले स्तब्ध बनायो । घरेलु मैदानमा सिटीलाई जिताउन जोस्को ग्वार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गर्नुभयो । चेल्सीका नोनी माडुकेले सान्त्वना गोल फर्काउनुभयो । एजेन्सी