राधाकृष्ण डुम्रे
वालिङ, माघ १३ गते । गल्याङ नगरपालिकाका जनप्रतिनिधि दूध उत्पादनमा आधारित अनुदान लिएर गाउँगाउँमा पुगेका छन् । उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राखेको गल्याङले दूधमा प्रति लिटर रु १५ अनुदान दिँदै आएको छ ।
दुग्ध उत्पादन गरेर बिक्री गरे बापत नगरपालिकाको तर्फबाट उपलब्ध गराइने प्रतिलिटर १५ रुपियाँ बापतको रकम लिएर जनप्रतिनिधि गाउँगाउँ पुगेका हुन् । गल्याङ नगरपालिका–९ बेलचौरमा रहेको श्रीकृष्ण गण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरूलाई अनुदान बापतको जम्मा रु २ लाख ८८ हजार १ सय ७२ रुपियाँ वितरण गरिएको हो ।
सहकारीमार्फत दूध सङ्कलन गरेको ६२ जना किसानहरूलाई अनुदान दिइएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उनीहरूले १९ हजार दुई सय ११ लिटर दूध उत्पादन गरेको उहाँले बताउनुभयो ।
वडा नं.९ का कृषक भुपराज खनालले २ हजार ६ सय ६० लिटर दूध बिक्री गरी जम्मा रु ३९ हजार ९ सय र अर्का कृषक प्रेम नारायण खनालले चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार पाँच सय आठ लिटर दूध बिक्री गरी ३७ हजार ६ सय २० रुपियाँ अनुदान प्राप्त गर्नुभएको छ ।
सेतो सहरको रूपमा विकास गरिरहेको गल्याङले दूध उत्पादक कृषकलाई उत्पादनमा आधारित रहेर आर्थिक वर्ष २०७६-७७ बाट प्रति लिटर १५ रुपियाँ अनुदान दिँदै आएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले नगरपालिकामा दुग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो ।
११ वटा वडामा रहेका ११ वटा दुग्ध उत्पादक तथा सङ्कलक सहकारी तथा तीन वटा समूह मार्फत दूध सङ्कलन र बजारीकरण हुँदै आएको गल्याङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर सुप्रिना शर्माले बताउनुभयो ।