राधा लुइटेल
फिदिम, माघ १३ गते । प्रसुती पश्चात अत्यधिक रक्तश्राब भएर गम्भीर बिरामी हुनुभएकी ३९ वर्षीया महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका –१ आङनाकी ३९ वर्षीया मनमति तामाङलाई शनिबार साँझ तुम्वेवा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय पाँचथरको पहलमा उद्धार गरिएको हो ।
उहाँलाई उपचारका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत आएको नेपाली सेनाको एयर बसले काठमाडौं लगेको हो ।
शनिबार बिहान घरैमा सुत्केरी भएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि स्वास्थ चौकी मौवा ल्याइएकी तामाङलाई त्यहाँ प्राथमिक उपचार गरेर हेलिकोप्टरमार्फत काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती अस्पताल काठमाडौं पठाइएको तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार ३९ वर्षीया तामाङले शनिवबार बिहान पाँचौं सन्तान जन्माउनु भएको थियो । उहाँको थापाथली परोपकार प्रसुती अस्पतालमा उपचार भइरहेको खड्काले बताउनुभयो ।