• १४ माघ २०८१, सोमबार

‘आत्मनिर्भर र सिपमूलक शिक्षा आवश्यक’

blog

घोराही समाचारदाता

घोराही, माघ १३ गते । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समय अनुकूल आत्मनिर्भर र सिपमूलक शिक्षा आवश्यक परेको बताउनुभएको छ । 

नयाँ शिक्षा विधेयकबारे सुझाव लिने क्रममा लुम्बिनी प्रदेशको दाङमा आइपुगेका सभापति थापाले अध्ययन गरिसकेपछि आफ्नै ठाउँमा स्वरोजगार बन्ने शिक्षा प्रणाली अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

अध्ययनपछि आफ्नो गाउँठाउँ छाडेर युवा विद्यार्थी बाहिर जाने गरेका भन्दै त्यसलाई रोक्न पनि नयाँ शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो । सातै प्रदेशबाट सुझाव लिने काम भइरहेको भन्दै सभापति थापाले सबैका सुझाव समेटेर नयाँ शिक्षा विधेयक बनाउने बताउनुभयो । 

सुझावका लागि सात प्रदेशमा परामर्श लिने काम भइरहेको भन्दै सभापति थापाले भन्नुभयो, “सात प्रदेशमध्ये अहिलेसम्म छ वटा प्रदेशमा पुगेका छौँ । त्यही क्रममा अहिले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पदाधिकारीसँगै स्थानीय सरकारसँग कस्तो खालको शिक्षा आवश्यक छ भनेर सुझाव लिने काम भइरहेको छ ।” 

छलफलका क्रममा अनुकूल, आत्मनिर्भर र सिपमूलक शिक्षाको आवश्यकतामा जोड दिइएको भन्दै उहाँले प्रस्तुत विधेयकमा विभिन्न संशोधन परेको हुँदा कक्षा ४ वा कक्षा ८ देखि त्यस्तो सिपमूलक शिक्षा लागु गर्ने भन्नेबारे सुझावका आधारमा निक्र्योल हुने बताउनुभयो । “अब मुलुकलाई जीवनोपयोगी शिक्षा आवश्यक छ भन्ने सुझाव आएको छ,” सभापति थापाले भन्नुभयो, “अहिलेको शिक्षा भनेको जागिरमूलक शिक्षा मात्रै भयो । गरिखाने सिपमूलक शिक्षाको कुरा उठाउनुभएको छ । उपयुक्त सुझाव समेट्ने छौँ  ।” 

समितिकी सदस्य सांसद तोसिमा कार्कीले पहिले बन्द कोठाभित्र बसेर शिक्षा विधेयक बनाउने गरिए पनि ५२ वर्षपछि पहिलो पटक सातै प्रदेशमा पुगेर सुझाव सङ्कलन गरी शिक्षा विधेयक बनाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एसइईमा राम्रो अङ्क ल्याएको तर जीवनोपयोगी शिक्षा, ज्ञान र सिप ऊसँग छैन । त्यही भएर शैक्षिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा आवश्यक छ ।” 

सुझाव सङ्कलन टोलीमा घोराहीस्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा बिहीबार भएको छलफल कार्यक्रममा समितिका सदस्य, जनप्रतिनिधि,  शिक्षा विकास तथा समन्वय अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागिता थियो ।