नेपालगन्ज समाचारदाता
नेपालगन्ज, माघ १३ गते । बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने जब्दीघाटमा सात वर्षपछि पुल निर्माण प्रक्रिया अगाडि बढेको छ ।
सङ्घीय सरकारका अर्थ मन्त्रालयले हालै पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रुपियाँ बजेट सुनिश्चित गरेपछि पुल निर्माण प्रक्रिया सुरु भएको हो ।
२०७४ सालको बाढीमा जब्दीघाटको पुल निर्माण भएर हस्तान्तरण नहुँदै भासिएको थियो । दुई वर्षसम्म पुलबाट जोखिम मोलेर स्थानीयले आवतजावत गरिरहेका थिए । २०७९ को बाढीले भत्किएको सो पुललाई पूर्ण रूपमा क्षति पुर्याएपछि आवतजावत नै ठप्प भएको थियो ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चित दिइसकेको हुनाले केही दिनमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुने सडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो ।
पुल निर्माण भएपछि बारबर्दिया नगरपालिका सदरमुकाम गुलरियासँग प्रत्यक्ष जोडिने छ । हाल बारबर्दियावासी सदरमुकाम पुग्नका लागि बर्सातमा डुङ्गाबाट नदी तर्ने गरेका छन् भने हिउँदयाममा पैसा तिरेर काठको पुलबाट तर्न बाध्य छन् ।