• १४ माघ २०८१, सोमबार

सिद्धबाबा सुरुङको सफलता

blog

हिमाल, पहाड र तराईले बनेको नेपाली भूगोल प्राकृतिक भूस्वर्ग नै हो । यति भौगोलिक विविधता भएको सुन्दर मुलुक संसारमा बिरलै पाइन्छ । प्राकृतिक सुन्दरतासँगै कतिपय चुनौती पनि छन् । खास गरी पर्वतीय क्षेत्रमा आधुनिक पूर्वाधार विकास भने सहज छैन । डाँडाकाँडा, पर्वत, खोँच, भिरपहराले पूर्वाधार विकासका काममा अनेक सकस दिइरहेको हुन्छ । खास गरी सडक पूर्वाधार निर्माणमा अनेक चुनौती आउने गर्छन् । मनसुनी वर्षासँगै आउने बाढी, पहिरोले सडक पूर्वाधारलाई ध्वस्त बनाउँछ । यसले दिगो पूर्वाधारमा अनेक कठिनाइ थप्छ । प्राकृतिक तबरले नै नेपालका सबैजसो पहाड कलिला छन् । कमजोर भूधरातलले बनेकाले पनि चुनौती स्वाभाविक छ । पहाडी तथा हिमाली क्षेत्रमा पुग्ने सडक सञ्जालमा जोखिमपूर्ण भएका कारण सवारी दुर्घटनाको सामना गरिरहनु पर्छ । यस्तो अवस्थामा पर्वतीय सडकको सुधार वाञ्छनीय नै छ । पहाडी सडक सञ्जालका जोखिमपूर्ण कतिपय भूभागमा सुरुङ अर्थात् टनेल निर्माणले धेरै सहज बनाउँछ । अब नेपाल बिस्तारै टनेल युगतर्फ अग्रसर हुँदै गरेको सुखद सफलताले सन्तोष दिन थालेको छ ।

पृथ्वी राजमार्गको थानकोट खण्डमा टनेल निर्माणले सवारी आवागमनमा नयाँ सन्देश प्रवाह ताजै छ । राजधानी जोड्ने यो व्यस्त सडकमा टनेलको सफलतासँगै बढेको देशीय स्वविश्वास पाल्पाको जोखिमयुक्त सडकमा चाँडै फेरि अर्को टनेल निर्माण भएर नयाँ आयाम थपेको छ । सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल शुक्रबार छिचोलियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सजिलो थिएन । बारम्बार पहिरो गइरहने सो क्षेत्रमा जोखिम अति बढी थियो । सडक यातायातमा पहिरोकै कारण सवारी दुर्घटना भइरहने हुँदा विकल्प निम्ति अनेक प्रयास भएसँगै टनेल निर्माणको योजना अगाडि बढेको थियो । यति चाँडो टनेल छिचोलिन्छ भन्ने अनुमान थिएन । काम सुरु गरेको सात महिनामै टनेल छिचोलियो । यसले नयाँ अनुभव र विश्वास दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार टनेल छिचोलिने भव्य समारोहमा स्थलगत रूपमै पुग्ने कार्यक्रम थियो । स्वास्थ्य प्रतिकूलताका कारण उहाँ पुग्न सक्नु भएन । प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल रूपमै उपस्थित भई हौसला प्रदान गर्नुभयो । त्यस अवसरमा उहाँले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्रीले विगतको सम्झना पनि सुनाउनुभयो । केही वर्षअघि बुटवलमा प्रिया भण्डारी र केही कलाकारले गीत गाउनुभएको रहेछ – ‘कहिले बन्छ नेताज्यू सिद्धबाबा खण्ड ।’ त्यो पीडादायी गीत सम्झनु भयो र थप्नुभयो – साह्रै पीडाको, चासोको र जिज्ञासाको विषय थियो यो बाटो । यो बाटो नबन्दा बस दुर्घटना हुने, पहिरोमा पर्ने, पहिरोले गाडी बगाउने, गाडी नै फेला नपर्ने, फेला परे पनि अस्थिपञ्जर गाडीको वा मान्छेको फेला पर्ने दुःखदायी अवस्था । यसरी विगत सम्झँदै प्रधानमन्त्री ओलीले अब विकासले दुर्गमलाई पनि सुगम बनाउँदै जाने विश्वास दिलाउनुभयो । 

पाल्पाको सिद्धबाबा सडकखण्ड पीडा नै बनेको थियो । जति सडक निर्माण गरे पनि पहिरोले दुःख दिइरहन्थ्यो । अब टनेलले पूर्णता पाएपछि सडक यात्रा सहज हुने छ । पाल्पा, गुल्मीलगायतको यात्रा सहज हुने छ । टनेल भर्खर छिचोलिएको छ र त्यसलाई पूर्णता दिन केही समय लाग्ने छ । थानकोटपछि सिद्धबाबाको अनुभव नेपालका अरू क्षेत्रमा पनि काम लाग्ने छ । नेपालका अनेकौँ पहाडी सडकमा केही किलोमिटरका टनेल निर्माण गर्दा लामो र पहाडी घुमाउरा सडकका दुरी छोटा बन्ने छन् । विदेशमा खास गरी जापान र चीनमा ससाना पहाडमा पनि टनेलको प्रयोगले सडक यातायात सहज बनेको देखिन्छ । नेपालका कतिपय जलविद्युत् आयोजनाले टनेलका अनेकौँ सफल प्रयोग गरी विद्युत् उत्पादन गरिरहेका छन् । टनेल प्रविधि पहाडी क्षेत्रका जलविद्युत्, सडक यातायातका साथै रेलमार्ग निर्माणमा उपयोगी मानिन्छ । भारतको हिमाञ्चल प्रदेशमा एक शताब्दीअघि नै पहाडी रेलमार्ग बनेको थियो । त्यो रेलमार्गमा पनि ठाउँठाउँमा ससाना टनेलले सहज बनाएको देखिन्छ । कतिपय विज्ञ टनेल पूर्वाधार वित्तीय तवरले पनि दीर्घकालमा सस्तो हुने बताउँछन् । थानकोटपछि पाल्पा पुगेका टनेल ज्ञान देशभरि छरिनु जरुरी छ ।