गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ११ गते । कालीमाटी तकारी बजारमा चितवनबाट आएको सिमीमा अधिक विषादी भेटिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले मोबाइल फुड प्रयोगशालामा परीक्षण गर्दा सिमीमा अधिक विषादी भेटिएको हो ।
विभागको टोलीले मङ्गलबार राति ११ देखि बुधबार बिहान ४ बजेसम्स कालीमाटी बजारमा भित्रिएका १०८ गाडीका १५२ नमुनाको परीक्षण गरेको थियो । तीमध्ये चितवनबाट आएको १४१ केजी सिमीमा विषादीको मात्रा अधिक देखिएको हो ।
विभागका अनुसार सो अवधिमा भित्रिएका तरकारी परीक्षण गराउँदा चितवनको हरियो सिमीमा ४२ प्रतिशतसम्म इन्जाइम इन्हिविसन पाइएको थियो । चितवनका तरकारी व्यवसायी रामकुमार थपलियाको त्यो सिमीमा विषादीको मात्रा पाइएको हो । विषादीयुक्त सिमी तीन दिनसम्म क्वारेन्टाइन राख्न लगाइएको छ । तरकारीमा ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिविसन पाइँदा क्वारेन्टाइनमा राखी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा नष्ट गर्ने प्रावधान छ । पछिल्लो एक महिनाबिचमा कालीमाटीमा भित्रिएका रायो, पालुङ्गो, चम्सुर साग र ब्रोकाउली, टाटेसिमीमा लगातार विषादी अधिक भेटिएको थियो ।