रमेश पौडेल
पोखरा, माघ ९ गते। नेपाली पुँजी बजारमा लगानी गर्नका लागि पुँजी बजारकोे अध्ययन गरेर मात्र लगानी गर्न विज्ञले सुझाव दिएका छन्।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशमा कार्यरत आर्थिक पत्रकारका लागि धितोपत्र बजार र वस्तु विनिमय बजार सम्बन्धी कार्यक्रममा विज्ञले सो सुझाव दिएका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले पत्रकारको लागि नेपालको पुँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीको बारेमा पत्रकार जानकार भएमात्र आम नागरिकले सही सूचना प्राप्त गर्ने बताउनुभयो।
नेपाल धितोपत्र बोर्डका उप-कार्यकारी निर्देशक निरञ्जय घिमिरेले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन र विकासको बारेमा जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक मुरारी पराजुली र सिडिएस क्लियरिङका उप–प्रबन्धक सुरेश न्यौपाने, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ र फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमन, साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकास बारेमा सहजीकरण गर्नुभएको थियो।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले आर्थिक बिटमा कलम चलाउन चाहने पत्रकारको थप क्षमता वृद्धिका लागि यो कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गर्नुभयो।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट करिब ६० जना पत्रकारको सहभागिता रहेको सो कार्यक्रमको उद्घाटन सत्रमा महासङ्घका उपाध्यक्ष प्रकाश पौडेलले स्वागतसहित विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो भने महासचिव जमुना वर्षा शर्मा लगायतले आर्थिक पत्रकारिताका बारेमा बोल्नुभएको थियो।