बुटवल समाचारदाता
बुटवल, माघ ९ गते । गौतम बुद्धको पिताको नामबाट स्थापना भएको रुपन्देहीको एक पालिकाको नाम नै अशुद्ध भएपछि सच्याउन पहल थालिएको छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नाम अशुद्ध भएको भन्दै सच्याउने प्रक्रिया सुरु भएको हो । गौतम बुद्धका पिताको नाम शुद्धोदन भए पनि गाउँपालिका स्थापना गर्दा शुद्धोधन राखिएको थियो । भाषिक र व्याकरणीय रूपमा पनि शुद्धोधन अशुद्ध भएको भन्दै गाउँपालिकाको १७ औँ अधिवेशनको तेस्रो बैठकले नाम शुद्ध गर्न कानुनी रूपमा शुद्धोदन बनाउने प्रस्ताव गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्तीले भगवान् गौतम बुद्धका पिताको नाम शुद्धोदन शुद्ध भए पनि गाउँपालिकाको नाम राख्दा शुद्धोधन राखिएकाले व्याकरणको हिसाबमा पनि गलत भएकाले सच्याउन पहल थालिएको बताउनुभयो । उहाँले नेपाली शब्दकोशमा समेत गौतम बुद्धका पिताको नाम शुद्धोदन नै भएकाले गाउँपालिकाको नाम अधिवेशनबाटै सच्याउन प्रदेश तथा सङ्घीय सरकारलाई प्रस्ताव गरेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले पालिकाको नाम शुद्धोधन राखिएकामा उच्चारण तथा लेख्य रूपमा पनि अशुद्ध भएकाले शुद्धोदन बनाउन गाउँपालिकाको अधिवेशनले नै प्रस्ताव पास गरेको बताउनुभयो । उहाँले गाउँपालिकाको नामकरण र सान्दर्भिकतालाई समेत हेर्दा पहिले सरकारी कामकाजका रूपमा शुद्धोधन प्रयोग भए पनि भाषिक रूपमा अशुद्ध भएकाले नाम शुद्ध बनाउन संशोधन गर्न लागिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत घर्तीले कुनै पनि स्थानीय तहको पालिकाको नाम परिवर्तन, पालिकाको केन्द्र परिवर्तनलगायतका विषयमा सिफारिस गर्ने अधिकार प्रदेश सरकारलाई भएकाले प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई नाम संशोधनका लागि पत्राचार गर्ने पहल भइरहेको बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ मा गाउँपालिकाको नाम संशोधन गर्नु परेमा प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने र मन्त्रीपरिषद् बैठकले संशोधन गर्ने भन्ने प्रावधान छ ।
पालिकाका अध्यक्ष बस्यालले पालिकाको नाम राख्दा पहिले भाषिक शुद्धतामा ध्यान नपुग्दा अहिले संशोधन गर्नु परेको बताउँदै छिट्टै नै लुम्बिनी प्रदेश सरकारमार्फत नेपाल सरकारले नाम संशोधन गरी पठाउने विश्वास व्यक्त गर्नुभयो ।