चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ९ गते । ताप्लेजुङमा निर्माणाधीन जलविद्युत आयोजनाको संरचना तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मेरिङ्देन गाउँपालिकास्थित सिवाखोला जलविद्युत आयोजना कार्यालयको संरचनामा तोडफोड गरेको आरोपमा स्थानीय २२ वर्षीय बसन्त लिम्बू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार लिम्बूले ९.३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थल नजिकै रहेको साइड कार्यालय र कर्मचारी आवास गृहमा प्रवेशगरी तोडफोड गरेको आरोप छ । आवास गृहको झ्याल–ढोका फुटाउनुका साथै विद्युत् उपकरण, शौचालय, स्नानगृह सहितका संरचनामा क्षति पुगेको बताइएको छ ।
आयोजनाको संरचना तोडफोड गरेको आरोपमा पक्राउ परेका युवकउपर जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अपराधिक उपद्र शीर्षकको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । लिम्बूले मादक पदार्थ सेवन गरी आयोजनास्थलमा प्रवेश गरेर तोडफोड मच्चाएको आयोजनाले जनाएको छ ।