• ९ माघ २०८१, बुधबार

सहिद परिवारलाई कम्बल सहयोग

blog

सहिद परिवारलाई कम्बल वितरण गरिँदै । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, माघ ९ गते । प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका सदस्यलाई सहयोग गर्नुभएको छ । 

लामो समयपछि गृहजिल्ला कालीकोट आउनुभएका शाहीले खाँडाचक्र नगरपालिका स्थायी घर भएका सहिद परिवारलाई कम्बल वितरण गर्नुभएको हो । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता शाहीले आफूले पाउने सेवासुविधाबाट परिवर्तनका लागि भएको आन्दोलनमा सहभागी भएर ज्यान गुमाएका घर परिवारका सदस्यलाई थोरै भए पनि सहयोग पुगोस् भनेर कम्बल वितरण गरेको बताउनुभयो । 

आफू ऊर्जामन्त्री, कर्णाली प्रदेशको मुख्यमन्त्री हुँदा पनि जिल्लामा आएर सहिद, बेपत्ता परिवारका सदस्यसँग भेटघाट गर्ने, सुझाव ग्रहण गर्ने भन्दै उहाँले पछिल्लो समय स्वास्थ्यमा केही समस्या आएकाले अलि लामो समय जिल्ला आउन नपाएको उल्लेख गर्नुभयो । खाँडाचक्र नगरपालिकापछि अन्य स्थानीय तहमा पुगेर कम्बल वितरण गर्ने योजना रहेको छ ।