• ९ माघ २०८१, बुधबार

कांग्रेस नेता बस्नेतको निधन

blog

स्वर्गीय रामबहादुर बस्नेतको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाउँदै कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालासहित कांग्रेस नेताहरू । तस्विर : बाबुराम कार्की/गोरखापत्र

बाबुराम कार्की

वराहक्षेत्र, माघ ८ गते । नेपाली कांग्रेस सुनसरीका पूर्व पार्टी सभापति एवं तात्कालीन जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतको निधन भएको छ । 

पूर्व सभापति ७८ वर्षीय रामबहादुर बस्नेतको काठमाडौँस्थित आफ्नै निवासमा माघ ७ गते बिहान निधन भएको सुनसरी कांग्रेसले जनाएको छ । 

नेपाली कांग्रेस सुनसरी पाटी सभापति केदार भण्डारीका अनुसार स्वर्गीय बस्नेत नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उहाँले पटकपटक जेल जीवन व्यतित गर्नुभएको थियो ।

उहाँ प्रजातन्त्र पुनर्स्थापनापछि २०४९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसतर्फबाट बस्नेत जिल्ला विकास समिति सुनसरीको पहिलो जिल्ला सभापति हुनुभएको थियो । 

स्वर्गीय बस्नेत नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेस सभापति भण्डारीले बताउनु भयो । कांग्रेस सुनसरीको शोक प्रस्तावमा भनिएको छ बस्नेतको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने छ ।

कांग्रेस सुनसरीले माघ ८ गते स्वर्गीय बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सुनसरी इनरुवामा राखी श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो । आजै उहाँको पार्थिव शरीरलाई स्वर्गद्वारीघाट सुनसरीमा दाहसंस्कार गरिएको छ ।


बस्नेतको पार्थिव शरीरमा नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालासहितका नेताले कांग्रेसको झण्डा ओढाएको सुनसरी पाटी सचिव वीरेन्द्रकुमार शाहले बताउनु भयो । कांग्रेसका नेता मिन विश्वकर्मा, राजिव कोइराला, सिताराम मेहता, डिकबहादुर लिम्बू, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सुनसरी पाटी सभापति केदार भण्डारी, ऐयुव अन्सारीसहितका नेताको उपस्थिति रहेको थियो । 

नेपाली कांग्रेस सुनसरीले माघ ७, ८ र ९ गते सुनसरी जिल्लाको पाटीको सबै तहका कार्यालयहरूमा आधा झुकाउनुका साथै कार्यालयहरू बन्द राख्ने र स्वर्गारोहणका १३ दिनसम्म जिल्लाका सबै तहहरूमा शोक पुस्तिका राख्ने र तेह्रौ दिनमा शोक सभाको आयोजना गर्ने सुनसरी कांग्रेस सचिव विरेन्द्रकुमार शाहले जानकारी दिनुभयो । 

बस्नेतका श्रीमती, तीन छोरा, तीन छोरी हुनुहुन्छ । बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै जिल्लाका स्थानीय तहहरूमा आज मङ्गलबार शोक विदा गरिएको छ । सिङ्गो वराहक्षेत्र नगर अहिले शोकमा डुबेको छ ।