• ८ माघ २०८१, मङ्गलबार

बागमती सरकारले तीन दिन प्रदेशस्तरमा सहिद दिवस मनाउने

blog

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, माघ ८ गते । 
बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन मनाउने भएको छ । यही माघ १४, १५ र १६ गते सहिद दिवस तीन दिन प्रदेशस्तरमा सहिद दिवस मनाउने निर्णय गरिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सरोकारवालाहरूकाे भेलाले सहिद दिवस विशेष कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

सहिद दिवसको अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । सहिद दिवस मनाउन प्रदेश सरकारमा प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

सहिद दिवसका अवसरमा प्रदेशभरका सम्पूर्ण विद्यालयमा नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त सहिदको विषयसँग सम्बन्धित निबन्ध प्रतियोगिता सञ्चालन गर्ने र माघ १६ गते बिहान ७ः३० बजे हेटौँडा ११ स्थित सहिद स्मारकमा मूल समारोह कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

यसअघि सहिद स्मारक प्रवेशद्वारमा भेला भई प्रभातफेरी गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

उहाँका अनुसार कार्यक्रममा प्रदेश प्रमुखलाई प्रमुख अतिथिको रूपमा, मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष र सभामुखलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिने छ  ।

सहिद दिवस, २०८१ को अवसरमा माघ १४, १५ र १६ गते प्रदेश मन्त्रालय/कार्यालयहरू र सार्वजनिक स्थानको विशेष सरसफाइ गरिने र नगर क्षेत्र सरसफाइ कार्यको जिम्मेवारी हेटौँडा उपमहानगरपालिकालाई दिइएको छ । यस्तै, माघ १६ गते साँझ प्रदेशस्थित सबै मन्त्रालय/कार्यालयहरू/सार्वजनिक एवम् सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गर्ने र सो कार्यका लागि प्रदेशवासीलाई समेत अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

सहिद दिवसमा प्रदेशभर सबै सार्वजनिक निकायमा सम्बन्धित निकायले राष्ट्रिय झण्डा फहराउने, हेटौँडास्थित बुद्ध चोक र बसपार्कलगायतका तीन वटा सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा राख्ने र सबै प्रदेश मन्त्रालय/निकायहरूले आफ्नो बेवसाइटको होमपेजमा सहिद दिवस, २०८१ लेखिएको व्यानर राख्ने भेलाले निर्णय गरेको छ ।

१६ गतेको मूल कार्यक्रममा प्रभातफेरी तथा मञ्च व्यवस्थापनको जिम्मेवारी स्मारक विकास समितिले गर्ने भएको छ ।