• १० माघ २०८१, बिहिबार

झापामा धान उत्पादन घट्दै

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल
दमक, माघ ८ गते । अन्नको भण्डार मानिने झापामा बर्सेनि खेतीयोग्य जमिन मिचिँदै जाँदा धान उत्पादन घट्न थालेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार ४ वर्ष अघि ८७ हजार ५ सय हेक्टरमा धान खेती भएकोमा यो वर्ष आई पुग्दा ७२ हजार हेक्टरमा मात्र धान खेती भएको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार ४ वर्ष अघि ४ लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको यो वर्ष घटेर ३ लाख ८२ हजार मेट्रिक टन धान उत्पादन भएको छ । खेतीयोग्य जमिनहरू आवासीय प्रयोजनमा प्रयोग हुन थालेको र गैह्र कृषिजन्य क्षेत्रमा उपयोग हुन थालेकाले उत्पादन घटेको हुनसक्ने उहाँको भनाई छ ।
लामो समय खडेरी पर्नु, सिचाइको पर्याप्त सुविधा नहुनु, धानमा विभिन्न रोगको प्रकोप बढ्दै जानुले पनि उत्पादन घट्न थालेको बताइएको छ । कहिले अधिक पानी पर्ने र कहिले पानी नै नपर्ने गर्नाले पनि उत्पादन गिरावट आएको हुनसक्ने बताइने गरेको छ । यो वर्ष केही ठाउँमा धानमा विभिन्न रोगको प्रकोप देखिएकाले पनि उत्पादन घट्यो, कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले भन्नुभयो ।
झापा कमल गाउँपालिकाका अगुवा किसान ख्याम आचार्यका अनुसार पहिला प्रति बिगाहा ८० मनसम्म धान फल्ने गरे पनि अहिले ६० मन फल्न पनि मुस्किल बनेको छ । पहिला जति मिहिनेत गरिन्थ्यो त्यो भन्दा बढी मिहिनेत गर्दा पनि उत्पादन बढ्न छाडेको छ, आचार्यले भन्नुभयो ।
धानको उत्पादन बढाउन स्थानीय सरकार र प्रदेश सरकारले कृषिमा आधारित रहेर विभिन्न कार्यक्रमहरू ल्याउँदै आएका छन् । कमल गाउँपालिकाले निःशुल्क रूपमा जैविक मल उपलब्ध गराउँदै आएको छ । 
धान लगायतका कृषि उपज उत्पादन बढाउन हामीले किसानको आवश्यकता अनुसार नै जैविक मल उत्पादन गरेर वितरण गर्दै आएका छौ, गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भन्नुभयो । भू उपयोग नीतिको उचित कार्यान्वयन गरेर उत्पादनलाई घटन नदिन लाग्ने योजनामा रहेको उहाँ बताउनु हुन्छ ।