• १० माघ २०८१, बिहिबार

यु–१९ महिला विश्वकप : नेपालको दोस्रो हार

blog

स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपालको खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ ७ गते । नेपालले मलेसियाका जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा दोस्रो हार खेपेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो । 

जितको सँघारमा पुगेको नेपाल अन्तिममा सम्हालिन सकेन । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना टरेको छ । 

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल  माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।  जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो । 

स्कटल्यान्ड लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाउनुभयो । ग्रवियल फन्टेलाले अविजित १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका रचना चौधरी र सिमाना केसीले दुई तथा पुजा महतो र कृष्मा गुरुङले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

नेपालको ब्याटिङ कमजोर बनाउन बलिङमा स्कटल्यान्डकी मैसि म्याकिरा एक्लैले पाँच विकेट लिनुभयो । अमि बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिनुभयो ।