• १० माघ २०८१, बिहिबार

अर्थतन्त्रका सूचक समग्रमा राम्रो छ : गभर्नर अधिकारी

blog

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ ७ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय बाढी, पहिरोका कारण निकै ठुलो असर परेपनि राष्ट्र बैंक बाह्य क्षेत्रमा सबल रहेको जानकारी दिनुभयो । उहाँले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु बेल क्यापिटलाइज रहेको दाबी गर्नुभयो । उहाँले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको कारणले अर्थतन्त्रमा केही स्लो डाउन भएको बताउनुभयो ।

‘‘अर्थतन्त्र समग्र रुपमा अर्थतन्त्रका फण्डामेण्ट्ल्सहरु अत्यन्तै राम्रा छन् । हामी बाह्य क्षेत्रमा सबल छौँ । पछिल्लो समय बाढी, पहिरोको निकै ठुलो असर परेको हामीले देख्यौँ । जसको फलस्वरुप खाद्य, पेय पदार्थतिरको इन्प्लेसन अलिक बेसी बढेको छ । तर पनि औषतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै इन्प्लेसन बसेको अवस्था छ ।,’’ गभर्नर अधिकारीले भन्नुभयो, ‘‘बैंकिङ सिस्टममा तरलता एकदमै राम्रो छ । बैंकहरु वेल क्यापिटलाइज छन् । भला अलिकति स्ट्रेस प्रफिटमा छ । रिकोभरीमा छ । त्यो हामीले स्पष्ट रुपमा देखेका छौँ । रिकोभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ । अर्थतन्त्रमा अलिकति स्लो डाउन भएको असर हामी देख्छौँ ।’’

गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताउनुभयो । अराजकताका यस्ता विषयहरु सधैँ नरहने उहाँको भनाइ छ ।