बोमलाल गिरी
नवलपुर, माघ ६ गते । जिल्लाका स्कुल र क्याम्पसले सञ्चालन गरेका ५० प्रतिशत बस ट्राफिक कारबाहीमा परेका छन् । स्कुल र बसमा धेरै गुनासो आएपछि चेकजाँचलाई तिब्रता दिएको ट्राफिक प्रहरीले मापदण्ड नपुगेको भन्दै कारबाही गरेको हो ।
शुक्रबार गैँडाकोटमा १७ वटा बसमा चेकिङ गर्दा ९ वटा बस कारबाहीमा परेका थिए । आइतबार कावासोतीमा १२ वटा बसमा गरिएको चेकिङमा ७ वटा बस कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्कुल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरेको, कतिपय बसको बिलबुक नबोकेको, नवीकरण नभएको, कालो नम्बर प्लेट राखेको, पहेको रङकाे प्रयोग नभएको पाइएको छ ।
त्यस्तै, विद्यालय बस सञ्चालन निर्देशिका बमोजिम गाडीमा प्राथमिक उपचार किट, फायर एक्सटिङ्गीसर, आपतकालीन ढोका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्न योग्य नरहेको पाइएको प्रहरी निरीक्षक बन्जराले जानकारी दिनुभयो ।
मापदण्डविपरित चलाइएका बसलाई यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । यसरी कारबाहीमा परेका बसलाई राजस्व तिरेपछि थप अनुगमन गरेर मात्र सवारी चालक अनुमतिपत्र र बिलबुक दिइने प्रहरीले जनाएको छ ।