आख्यानात्मक दृष्टिले वैदिक समाजको सङ्क्रमणकालीन चरित्र चित्रण गरिएको उपन्यास हो– युगसन्धि । वैदिक कालमा आफ्नो भूमि र सभ्यता विस्तार एवं संरक्षणका लागि भएका खिचातानी, छलकपट, वैमनस्य, कलह, आक्रमण प्रत्याक्रमण र बहुपक्षीय सङ्घर्षका विविध पक्ष उजागर गर्न सफल आख्यानात्मक पुनर्कथन हो– युगसन्धि । आज र भोलिको पुस्ताले वैदिक समाज बुझ्न पढ्नुपर्ने विभिन्न पौराणिक कथा र तत्कालीन यथार्थको सगोल सँगालो हो– युगसन्धि । प्राचीन वैदिक र लौकिक वाङ्मयका वेद, उपनिषद् र पुराणका कथाको प्रगतिशील चिन्तनमा नेपाली वाङ्मयमा भित्रिएको सशक्त र उत्कृष्ट कृति हो– युगसन्धि । नेपाल ऋषिमहर्षिहरूको तपस्थल र देवभूमि भएको प्रमाण हो– युगसन्धि ।
कश्यप र अदितिका पुत्र वरुणलोकका अधिपति वरुण सुन्दर वनमा एकाग्र चित्तले यज्ञ गरिरहेका बेला गन्धर्वपुत्री उर्वशीको नृत्यले ध्यान भङ्ग हुन्छ । वरुण उर्वशीप्रति आकर्षित मात्र हुँदैनन्, उनीहरूको बिचमा समागम पनि हुन्छ । समागमबाट स्खलित वरुणको वीर्य र उर्वशीको डिम्बलाई घडाभित्र निषेचनका माध्यमबाट गरिएको गर्भाधानबाट दुई सन्तान अगस्त्य र वशिष्ठको जन्म हुन्छ । यहीँबाट कथा प्रारम्भ हुन्छ । अगस्त्यको विवाह विदर्भ राजकुमारी लोपामुद्रासँग हुन्छ । वशिष्ठको कर्मद ऋषि र देवहुदतीका आठौँ सन्तान अरुन्धतीसँग हुन्छ । गाधी नरेश कुशिक र पत्नी घोषाकी पुत्री सत्यवतीसँग महर्षि ऋचकको विवाह हुन्छ । सन्तान नहुँदा चिन्तित सत्यवतीको अनुरोधमा महर्षि ऋचकले तयार पारेको भैषज्यको सेवनले ऋचक र सत्यवतीलाई पुत्रलाभ हुन्छ र उनको नाम जमदग्नि राखिन्छ । भैषज्य सेवनले गाधी नरेश कुशिक र रानी घोषाबाट उत्तराधिकारीका रूपमा विश्वरथको जन्म हुन्छ । वैदिक कालका यिनै पात्रबाट कथा अगाडि बढ्दै जान्छ ।
ब्रह्मर्षि वशिष्ठका पुत्रहरू र अयोध्याका राजा सौदास मित्रसहको जम्काभेटले कथालाई रोमाञ्चित मात्र बनाउँदैन, भेष परिवर्तन र श्रापका शृङ्खलाहरू अघि बढ्छन् । वशिष्ठपुत्र शक्तिको श्रापले सौदास मित्रसह नरभक्षी डाँकु बन्न पुग्छन् । उनको वाण प्रहारले मैथुनरत असुर दम्पतीमा पत्नीको मृत्यु हुन्छ । असुरले सौदास मित्रसहसँग बदला लिन आफ्नो भेष परिवर्तन गरी ब्रह्मर्षि वशिष्ठ र सौदास मित्रसहको सम्बन्ध बिगार्ने प्रयत्न गर्छन् । राजा बुध र इलाका पुत्र फुरुरवाले आफ्नो बल र पराक्रमद्वारा शक्ति आर्जन गरी ब्राह्मणद्वारा स्थापित मान्यतामाथि आफ्नो राज्यमा प्रतिबन्ध लगाएको खबर नारद ऋषिले देवराज इन्द्रकहाँ पुर्याउँछन् । इन्द्रले स्वर्गबाट उर्वशी पठाउँछन् र उर्वशीको मोहमा पारेर उनको शक्ति क्षीण गराइन्छ ।
देवोदास काशीराजका नाउँले प्रसिद्ध हुन्छन् । किराँत राजमा भने शम्वरले राज गरिरहेका हुन्छन् । कैयौँ पटकको आक्रमणबाट पनि काशीराजले शम्वरको किराँत राज्यमाथि विजय प्राप्त गर्न सकेका हुँदैनन् । हिमवत्खण्डमा राज गरिरहेका अनार्य र समथर भागमा राज गरिरहेका आर्यहरूमा आआफ्ना सभ्यता र सम्पदाको विकास र संरक्षणका लागि सङ्घर्ष चलिरहन्छ । बाँडफाँट र अनार्यहरूको किरपुरमाथि काशीराज देवोदासले दाबी गर्छन् । काशीराजमा राजनीतिक रणकौशलको काम राजगुरु ब्रह्मर्षि वशिष्ठले गर्छन् । गाधीराजमा कुलगुरुको जिम्मेवारी अगस्त्यले प्राप्त गर्छन् । अगस्त्य र उनकी पत्नी लोपामुद्रामा पनि वैचारिक द्वन्द्व सुरु हुन्छ । लोपामुद्रा भूमिका समय र परिस्थिति अनुसार बदलिनुपर्ने प्रगतिशील विचारको प्रतिनिधित्व गर्छिन् भने अगस्त्य अनार्यप्रति कठोर हुन्छन् ।
काशीराज देवोदास दुवै आर्यराज संयुक्त रूपमा किराँत राजसँग लड्नुपर्ने प्रस्ताव वशिष्ठमार्फत गाधीराजकहाँ पठाउँछन् । गाधीराज भने पानीको बाँडफाँटमा छलफल गरी मिलाउने तर किरपुर किराँतहरूको भएकाले किराँतीलाई छोड्ने सल्लाह दिन्छन् ।
एकअर्काका सूचना प्राप्त गरी युद्धनीति तयार गर्न काशीराज र किराँतराजका गुप्तचरहरू सक्रिय हुन्छन् । किराँत राजका गुप्तचरहरूले गाधी राजकुमार विश्वरथ र उनका बालसखा ऋक्षलाई सरस्वती नदीबाट नुहाइरहेको अवस्थामा अपहरण गर्छन् । त्यसपछि भने सङ्घर्ष थप रोचक बन्दै जान्छ । युद्ध संयुक्त रूपमा सुरु हुन्छ । गाधीराज राजकुमारलाई छुट्याउने प्रयत्नसहित युद्धमा अघि बढ्छ । काशीराज भने मौकाको फाइदा उठाएर किराँत राज्यमाथि विजय प्राप्त गर्न चाहन्छन् ।
बन्दी अवस्थामै किराँत राजकुमारी उग्राले गाधी राजकुमारसँग प्रेम प्रस्ताव राख्छिन् र दुवैको बिचमा समागम हुन पुग्छ । उग्राले गाधीराज कुमार र उनका साथीलाई किल्लाबाट बाहिर निकाल्ने र गेट बन्द गर्ने योजना बनाउँछिन् । राजकुमार र उनका साथीलाई बाहिर निकाल्नासाथ गाधी सैनिकहरूको प्रवेशलाई रोक्न असफल हुन्छिन् । दुवै राजका सेना किल्ला तोडेर किराँत राजमा हमला गर्छन् । किराँत राजा शम्बर युद्धमा मारिन्छन् । किराँत राजमाथि काशीराज र गाधीराजले विजय प्राप्त गर्छन् ।
किराँत राजकुमारी उग्रालाई ल्याएर आएका विश्वरथ प्रेमको प्रतीकका रूपमा उग्रालाई भावी महारानी बनाउन चाहन्छन् । प्रेमका लागि उनले गरेको त्यागको सम्मान गर्नुपर्ने कुरा राख्छन् । कुलगुरु अगस्त्यले उग्रालाई दासीका रूपमा राख्न सुझाव दिन्छन् । गाधीराज घरेलु लडाइँमा फस्छन् । अगस्त्यपत्नी राजकुमार र उग्राको पक्षमा उभिन्छिन् । विश्वरथले उग्रालाई जात्यान्तरण गर्न गायत्री मन्त्र सिर्जना गर्छन् । जात्यान्तरण गरेको मन नपरेका अगस्त्य भने विश्वरथको कदमविरुद्ध विद्रोह गर्न उक्साउँछन् । उनी विद्रोह गर्न सफल हुन्छन् । लोपामुद्रा आफ्नो अलग्गै आश्रम खडा गरेर अगस्त्यसँग अलग हुन्छिन् । राज्यबाट निष्कासन गरेर अलग्गै बसेका विश्वरथकहाँ विद्रोही पुग्छन् र उग्राको ज्यान लिन्छन् । उनीबाट जन्मेको नवजात शिशुलाई विदुषी लोपामुद्राले लुकाएर आफ्ना आभूषणसहित एउटा लोभी ब्राह्मणलाई जिम्मा लगाउँछिन् । पुत्रवियोगमा महारानी घोषा कौशिकी नदीमा आफ्नो देह विसर्जन गर्छिन् ।
उग्राको हत्यापछि विश्वरथ राजकाजमा फर्किन्छन् । राजकाजको मात लाग्न थाल्छ । सिकार खेल्न गएको अवस्थामा वशिष्ठ आश्रममा कामधेनुको चमत्कार सुनेका विश्वरथले कामधेनु गाई राज्यलाई दिनुपर्ने सर्त राखेर गुरु वशिष्ठसँग लडाइँ गर्छन् र हार्छन् । वशिष्ठसँग बदला लिन बचेका पुत्रमध्येका ज्येष्ठ हस्तकलाई राजपाठ जिम्मा लगाएर तपस्या गरी शक्ति आर्जन गर्न हिमालय पर्वततिर लाग्छन् ।
तपस्यामार्फत शक्ति आर्जन गरेका विश्वरथको प्रभाव तिनै लोकमा फैलिन्छ । ऋषि जीवनमा रमाउँदै गुरुकुल आश्रम खोलेर बस्छन् । उनको बदला लिने भावना भने गएको हुँदैन । वशिष्ठको श्रापले अर्धमानव किङ्करमा परिणत भएका सौदास मित्रसहलाई प्रयोग गरी वशिष्ठका छोराहरूको हत्या गर्न सफल हुन्छन् । पुत्रशोकमा वशिष्ठले देहत्याग गर्न खोज्छन् । छोराहरूको मृत्युपछि बुहारीको गर्भमा रहेका नाति पराशरको जन्मपश्चात् उनी पुनः कठोर तपस्याका लागि मानसरोवरनिकट मानस पर्वततिर लाग्छन् ।
काशी नरेश देवोदास छोरा सुदासलाई राज्य सुम्पेर वानप्रस्थान जान्छन् । शम्वर राज्य विभिन्न साना साना गणराज्यमा परिणत भएका हुन्छन् । यी गणराज्य एक बनाएर लडाइँमा उतार्न सकियो भने काशीराजमाथि विजय प्राप्त गर्न सकिन्छ र वशिष्ठसँग बदला लिन सकिन्छ भन्ने सोचको विकास विश्वरथ विश्वामित्रमा आउँछ । उनी गणराज्यहरूलाई एकजुट बनाएर सङ्घको नेतृत्व संवरणलाई दिन सफल हुन्छन् ।
युद्धमा ब्रह्मर्षि वशिष्ठको रणकौशल नीतिले गणराजहरू हार्छन् । काशीराजमा वशिष्ठको प्रभाव फैलिन्छ । उनको फैलिँदै गएको प्रभावप्रति राजा सुदास सशङ्कित हुन्छन् । वशिष्ठले राज्यमा दागा धर्छन् भन्ने कुरा मनमा आउँछ र पुरानो तिक्तता बिर्सेर विश्वामित्रलाई राजगुरु घोषणा गर्छन् । वशिष्ठ भने आफ्नो आश्रम देवघाटमा फर्किन्छन् ।
सत्यव्रतको जिउँदै स्वर्ग जाने इच्छा पूर्तिका लागि यज्ञ गर्न कुनै पनि ऋषिले मान्दैनन् । विश्वामित्र भने तयार हुन्छन् । विश्वामित्र सोझै स्वर्ग पठाउन त सक्दैनन् तर अर्को स्वर्ग निर्माण गरेर सत्यव्रतलाई पठाउन सफल हुन्छन् । उनको जयजयकार हुन्छ । युगकै महान् साधक कहलिन्छन् । सत्यव्रत नस्वर्ग नभूलोक बिचमा भएकाले त्रिशङ्कु नाउँले सम्बोधित हुन थाल्छन् ।
सत्यव्रत पुत्र हरिश्चन्द्रका धेरै रानी भए पनि पुत्रहरू हुँदैनन् । नारदको सल्लाह अनुसार पुत्र प्राप्तिका लागि यज्ञ गरेर नियोगका लागि प्रचेत पुत्र वरुणलाई छानिन्छ । वरुणले ज्येष्ठपुत्र प्रतिदानको माग गर्छन् । प्रथम पुत्र रोहित जन्मन्छन् । रोहितलाई लिन वरुण आउँछन् । पटक पटक विभिन्न बहानामा सत्यव्रतले वरुणलाई फिर्ता गर्छन् । रोहित हुर्किसकेपछि नरबलिका लागि उपयुक्त मानिसको खोजी हुन्छ । जङ्गलमा बसोबास गर्दै आएका अल्छी ब्राह्मण अजिगर्त माइलो छोरा दिन मन्जुर हुन्छन् । बलिका लागि अजिगर्तले बेचेका तर बलि हुनबाट बचेका शुनःशेप विश्वरथ र उग्राका सन्तान भएको प्रमाणित हुन्छ । विश्वामित्रले उनलाई गाधीराजको उत्तराधिकारी घोषणाका लागि प्रयत्न गर्छन् र स्वीकार नगर्ने छोराहरूलाई क्रोधित भएर ऋषिकुलबाट वञ्चित गर्छन् ।
नयाँ स्वर्ग निर्माणपछि विश्वामित्रको महत्वाकाङ्क्षा बढ्दै गएको हुन्छ । सिद्धि प्राप्तिपछि पनि ब्रह्मर्षि पदबाट वञ्चित हुनुपर्दा वशिष्ठसँग निकै क्रुद्ध हुन्छन् । वशिष्ठसँग लडाइँ गर्छन् तर उनका हरेक प्रहार असफल हुन्छन् । वशिष्ठका अगाडि उनको केही लाग्दैन । पुनः तपस्या गरी फर्केर वशिष्ठसँग बदला लिन जाँदा वशिष्ठ दम्पतीको छलफलमा ईष्र्या, घमण्ड र द्वेष नत्यागेकाले ब्रह्मर्षि पद दिन नसकिएको कुरा आफ्नै कानले सुन्छन् । वशिष्ठको पाउमा पर्छन् । उनी पूर्ण जितन्द्रिय बन्छन् । वशिष्ठको मुखबाट ब्रह्मर्षि शब्द निस्कन्छ । अनेकौँ तानाबानाका कथा र उपकथाका बिच संयोगान्तमा उपन्यास टुङ्गिन्छ । पत्रकारिता र साहित्यका साधक विजय चालिसेद्वारा लिखित यो उपन्यास वैदिककालको समग्र परिवेश समेट्न सफल छ । आजको पुस्ताले पढ्नैपर्ने पुस्तकका रूपमा यो कृति रहेको छ । परिचय पब्लिकेसनद्वारा प्रकाशित यस उपन्यासको मूल्य ५५० रुपियाँ र पृष्ठ सङ्ख्या २४८ रहेको छ ।