अविनाश चौधरी
धनगढी, माघ ४ गते । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछि किसानलाई बाली जोगाउन आपत परेको हो ।
गहुँ, मसुरो, आलु, तरकारी जोगाउन लागि उनीहरु खेतमै बास बस्नुका साथै रातभरि गस्ती गर्नुपर्ने बाध्यता छ । छाडा चौपायाले किसानलाई ठुलो समस्यामा पारेको कैलारी गाउँपालिका–३ भर्रीका किसान मक्कुराम चौधरीले बताउनुभयो । “हामी सीमा क्षेत्रका किसान छाडा चौपायाबाट धेरै पीडित छौं” उहाँले भन्नुभयो, “हाम्रै यहाँ रहेका र भारततिरबाट पनि आएर छाडा चौपायाले खेतीपातीमा नोक्सान गरिहेका छन् ।”
कृषक चौधरीकाअनुसार गहुँ, मसुरो जोगाउन किसान खेतमै बास बस्ने गरेका छन् । आ–आफ्ना खेतमा स–साना झुपडी बनाएर राति त्यतै बास बस्ने र गस्ती गर्ने गरेका उहाँको भनाइ छ । “खेतमा जाग्राम बसेर गस्ती गरिएन भने सखाप पार्छन्” कृषक चौधरीले भन्नुभयो ।
कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतको क्षेत्रमा रहेका वनजङ्गलमा धेरै छाडा चौपाया बस्दै आएका छन् । त्यसैगरी, भारततिरबाट पनि अत्यधिक चौपाया खेतसम्म आउने गरेको किसानको भनाइ छ । भारततिरबाट आउने चौपाया धपाउन लागि उनीहरु विभिन्न नाकामा रातभरि बसेर गस्ती गर्ने गरेका छन् ।
छाडा चौपायाको समस्याले विकराल रुप लिए पनि रोकथाममा स्थानीय सरकारले चासो नदेखाएको किसानको गुनासो छ । “स्थानीय सरकारले छाडा चौपायाले गरेको नोक्सानको न क्षतिपूर्ति दिन्छ न त चौपाया व्यवस्थापन गर्छ” लालपुरका कृषक गुरीलाल चौधरीले भन्नुभयो, “जताबाट पनि हामी किसान नै मर्कामा छौं ।”
कैलालीमा बर्खे बालीलाई बाढीले नोक्सान गर्दै आएको छ । बाढीपीडित धेरैजसो किसान परिवार हिउँदे बालीमा निर्भर छन् । हिउँदे बालीलाई छाडा चौपायाले नोक्सान गर्न थालेपछि समस्यामा परेको उनीहरुको भनाइ छ । छाडा चौपाया व्यवस्थापनको नाममा विभिन्न स्थानीय तहले अत्यधिक बजेट खर्च गरिसकेका छन् । तर समस्या अझै ज्युँको त्युँ रहेको छ ।