• १० माघ २०८१, बिहिबार

‘एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध छैन’

blog

काठमाडौं, माघ ४ गते । पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपिभी) खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गरिएको छ ।

स्वास्थ्य सेवा विभागको परिवारकल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गर्नुभयो ।

सरकारले यहि माघ २२ देखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियानमा लगाउने खोप र बाँझोपनको कुनै सम्बन्ध नभएको प्रष्ट पार्नुभएको हो । सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १६ लाख किशोरीलाई एचपिभी खोप दिँदैछ ।

उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनले करिव दुई दशक अघिदेखि प्रयोगका लागि अनुमति दिएको एचपिभी खोप हाल १४४ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीलाई दिँदै आएको छ । यो खोपसम्बन्धी गरिएको विभिन्न अध्ययन अनुसन्धानले एचपिभी खोप र बाँझोपन बीच कुनै सम्बन्ध नरहेको देखाएको छ । त्यसैले ढुक्क भएर एचपिभी खोप लगाउनुहोस् ।”