• ४ माघ २०८१, शुक्रबार

रुस र इरानबिच ‘साझेदारी’ सम्झौता हुँदै

blog

मस्को, माघ ४ गते । रुस र इरानले शुक्रबार ‘विस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को भ्रमणका क्रममा यो सम्झौता हुन लागेको हो ।

मस्को र तेहरानले वर्षौंदेखिको गहिरो सहयोगपछि आफ्नो घनिष्ठ सम्बन्धलाई औपचारिकता दिन खोजिरहेका बेला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा प्रवेश गर्नुभन्दा तीन दिनअघि सम्झौता हुने भएको हो ।

युक्रेनी र पश्चिमी अधिकारीहरूका अनुसार इरानले रुसलाई स्वचालितरूपमा विस्फोट हुने ‘शहीद’ ड्रोनहरू प्रदान गरेको छ । यिनीहरूलाई मस्कोले युक्रेनमा राति ब्यारेजहरूमा आक्रमण गर्न प्रयोग गर्छ । दुबै देशले पश्चिमी प्रतिबन्धहरूको बिच व्यापार बढाएका छन् ।

नयाँ सन्धिले तेहरान र मस्कोको ‘सैन्य–राजनीतिक र व्यापार–आर्थिक’ सम्बन्धलाई थप मजबुत बनाउने क्रेमलिनले बुधबार जनाएको छ ।

तेहरानका उच्च कूटनीतिज्ञ अब्बास अराघचीलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार तेहरानले शुक्रबारको सम्झौताबारे थोरै जानकारी दिएको छ तर गत वर्ष उत्तर कोरियासँग रुसले गरेको सन्धिमा समावेश गरिएको सम्झौताजस्तो पारस्परिक प्रतिरक्षा धारालाई अस्वीकार गरेको छ ।

दुवै पक्षले वर्षौंदेखि नयाँ सन्धिका लागि काम गरिरहेका थिए । उनीहरूको वर्तमान सम्बन्ध सन् २००१ को सम्झौताद्वारा निर्देशित छ र यसलाई उनीहरूले आवधिक रूपमा नवीकरण गरिरहेका छन् ।

रुसले इरानसँगको आगामी सम्झौता र प्योङयाङसँग यसअघि नै हस्ताक्षर भइसकेको सन्धि ‘कुनै पनि देशविरुद्ध लक्षित नभएको’ बताएको छ ।

“यो सन्धि रचनात्मक प्रकृतिको छ र यसको उद्देश्य रूस, इरान र विश्वका विभिन्न भागमा रहेका हाम्रा मित्रहरूको क्षमतालाई सुदृढ पार्नु हो,” रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार भन्नुभएको थियो ।

रूसका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गर्दै रुसको समाचार एजेन्सी तासले यो २० वर्षका लागि मान्य हुने जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान, चीन र उत्तर कोरियासँगको सम्बन्धलाई आफ्नो विदेश नीतिको आधारशिला बनाएका छन् ।

रुस र इरान दुवैले आफ्ना महत्त्वपूर्ण ऊर्जा उद्योगहरूमा प्रतिबन्धसहित भारी पश्चिमी प्रतिबन्धहरूको सामना गरिरहेका छन् ।

गत वर्ष कजानमा भएको ब्रिक्स समूहको शिखर सम्मेलनमा पुटिनले रुस र इरानबिचको ‘साँच्चिकै मैत्रीपूर्ण र रचनात्मक सम्बन्ध’लाई आफूले महत्त्व दिएको पेजेस्कियानलाई बताउनुभएको थियो ।

ट्रम्प सत्तामा फर्कनुभन्दा केही दिनअघि पेजेस्कियानको रुस भ्रमण हुन लागेको हो ।

इरानविरुद्ध पटक–पटक सैन्य धम्की दिँदै आएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वको शीघ्र अन्त्य गर्न चाहेको बताउनुभएको छ ।

मस्को र तेहरान दुवैको ठूलो समर्थन प्राप्त सिरियाली नेता बशर अल असदलाई विद्रोहीले सत्ताच्युत गरेको एक महिनापछि र इजरायल र इरानको सहयोगी हमासले गाजामा युद्धविरामको तयारी गरिरहेको एक महिनापछि यो सम्झौता भएको हो । रासस/एएफपी