• ३ माघ २०८१, बिहिबार

मेची राजमार्गको स्तरोन्नति गर्न माग

blog

छलफल कार्यक्रममा सहभागीहरु । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, माघ ३ गते । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न उद्योग व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) को नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई आज ध्यानाकर्षणपत्र बुुझाउँदै सो माग गरेका हुन् । 

बर्खायाम सुरु हुनअगावै मेची राजमार्ग वा वैकल्पिक मार्गलाई तयारी गर्न सरकारको ध्यानाकर्षण गराइएको व्यवसायीको भनाइ छ । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रुपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानमा आकाशे पानी पर्नासाथ यातायात अवरुद्ध हुनेगर्छ । त्यही कारण समयमै सडक बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत यो विषयमा ध्यानाकर्षण गराइको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष पौड्यालले बताउनुभयो । 

गत असोज दोस्रो साताको अविरल झरीपछि मेची राजमार्गको राजदुवालीमाथिको भागमा पहिरो गएपछि करिब दुई साता यो खण्डबाट यातायातका साधन चल्न नसक्दा इलाम, पाँचथर र ताप्लेजुङकै जनजीवन प्रभावित भएको थियो । करोडौं रुपियाँ खर्चंदा पनि सडक बग्नेक्रम नरोकिएपछि यो खण्डको वैकल्पिक सडक बनाउनु पर्ने बाध्यता छ । 

वैकल्पिक सडकमा आवश्यक रकम नहुँदा कति काम हुुन्छ र वर्षामा यातायात सञ्चालन हुन्छ भन्ने निश्चित नभएको सरोकारवालाको भनाइ छ । सो सडक खण्डको विकल्पमा थालिएको इलाम नगरपालिका –१० गोदकको सिमल गोलाईदेखि माइजोगमाई गाउँपालिकामा पर्ने माइबेनी हुँदै इलाम तिल्केनी जोड्नेगरी वैकल्पिक मार्गको लागि ठेक्का लागेको छ । 

यो सडकका लागि चालू आर्थिक वर्षमा छुट्टिएको एक करोड रुपियाँ बजेटबाट ठेक्का लगाइएको इलामस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । ‘बाटो साँघुरो छ, साँघुरो स्थानमा दुुई सवारी क्रस हुन सक्ने, विभिन्न स्थानमा ग्याभिन वाल, कटिङ लगायतका काम गर्नेगरी ठेक्का लागेको छ ।’ डिभिजन प्रमुख पवन भट्टराईले भन्नुुभयो, ‘यो मार्गका लागि योजना तयार गरेर ६ करोड रुपियाँको प्रस्ताव विभागमा पठाएका छौं । तर फाइल त्यहीं अल्झिएको छ । रकमको कुनै पत्तो छैन ।’ 

माइखोलामाथि मेची राजमार्गको धस्सिएको सडक खण्डको मर्मत गर्न वा वैकल्पिक सडक बनाउन प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारको ध्यानाकर्षण गराउँदै इलामका उद्योगी व्यवसायी ।