अनिल पराजुली
हेटौँडा, माघ २ गते । हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला २०८१ हुने भएको छ । हेटौँडा –१० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा माघ ११ र १२ गते घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत हेटौँडा उपमहानगरपालिका १० वडा अध्यक्ष एवम् घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मूल आयोजक समितिका संयोजक पूर्वा दोर्जे लामाले जानकारी दिनुभयो ।
प्रदर्शनीमा सहभागीलाई प्रशंसापत्रको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष लामाले नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३५ हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना पुरस्कारबापत चार जनालाई ५ हजार दिइने जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने, उत्पादित वस्तु स्वरोजगार सिर्जनामा सहयोग पुर्याउनुको साथै स्थानीय जातजातिका भेषभूषा झल्काउने र संस्कृति संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । साना उद्योग तथा लघुउद्यमीलाई स्थानीय उत्पादित वस्तुलाई प्रवर्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
त्यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको छ । प्रदर्शनीमा हेटौँडाका किसान तथा व्यवसायीले उत्पादन तथा निर्माण गरेका सेवा तथा वस्तुहरूको प्रदर्शनी तथा विक्री गरिनेछ । नृत्य प्रतियोगितामा पनि सबै वडाको कलाकार सहभागी हुन सक्नेछन् । दुई दिनसम्म हुने मेलामा घरेलु उत्पादनका विभिन्न एक सयवटा स्टल राखिनेछ ।
मेला सञ्चालनका लागि ५७ सदस्य मूल तयारी र विभिन्न ६ वटा उपसमितिहरू निर्माण गरी प्रदर्शनी मेला तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । “शिक्षालाई रोजगारीसँग जोडौँ कला संस्कृति र भेषभुषाको जगेर्ना गरौँ भन्ने आशयसाथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
१० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति, हेटौँडा ढाका उद्यमी समूह, हेटौँडा–१० जाल्पादेवी महिला उद्यमी केन्द्र, स्थानीय क्लब, आमा समूह, विद्यालयलगायत विभिन्न सङ्घ संस्थाको सहकार्यमा कार्यक्रम गर्न लागिएको जनाइएको छ । मेला सम्पन्न गर्नका लागि करिब १० लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।