• २ माघ २०८१, बुधबार

गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ । हालै बसेको मन्त्रीपरिषद्को बैठकले चालु आवका लागि गत वर्षको तुलनामा प्रतिक्विन्टल २१७ रुपियाँ बढी गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।  गत आव २०८०/८१ मा प्रतिक्विन्टल तीन हजार ६५० र आव २०७९/८० मा प्रतिक्विन्टल तीन हजार ३५१ रुपियाँ मूल्य निर्धारण भएको थियो । प्रत्येक वर्ष गहुँको समर्थन मूल्य बढ्दै गएको छ । गहुँको समर्थन मूल्य बढ्दा किसानलाई राहत हुने गर्छ । 

स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकोमा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७९/८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८/७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ । 

यसैबिच नेपालले भारतबाट दुई लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । भारत–नेपाल अन्तरसरकारी समिति (आइजिसी) को बैठकमा भारतीय पक्षले नेपालको अनुरोध स्वीकृत भएको जानकारी गराएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेको थियो । मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडका अनुसार गहुँ अभावले गर्दा मैदा मिल पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन् । 

मुलुकभर ३८ वटा मैदा मिल रहेका छन् । मिल सञ्चालनका लागि वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकोमा आवश्यक पर्ने कच्चा पदार्थ पर्याप्त मात्रामा नहुँदा नियमित रूपमा मिन सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । भारतले दिने भनेको दुई लाख मेट्रिक टन गहुँ आएपछि मिल सञ्चालन सहज हुने उहाँको भनाइ छ । 

धान र मकै पछिको तेस्रो प्रमुख बालीका रूपमा गहुँ रहेको छ । मैदा मिललाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ । गहुँबाट बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी नानलगायतका परिकार बन्ने गर्छन् । गहुँबाट क्यालोरी र प्रोटिन पाइन्छ । नेपालमा गहुँको औसत प्रतिहेक्टर २.९९ मेट्रिक टन रहेको छ । नेपालमा भृकुटी, गौतम, आदित्य, विजय, जिङ्क गहुँ –१, सिन्दुरेलगायतका गहुँका जात लगाइने गरिन्छ ।