• २ माघ २०८१, बुधबार

देवघाटधाममा महोत्सव

blog

अमरराज नहर्की

तनहुँ, माघ १ गते । नवलपुरको सङ्गमस्थल देवघाटधाममा एक महिने महोत्सव सुरु भएको छ । सो ठाउँमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि आर्थिक सङ्कलन गर्न महोत्सव सुरु भएको हो ।

नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा अन्य विशिष्ट अतिथिहरु १००८ स्वामी रमनानन्द जी महाराज, १००८ जगन्नाथाचार्य स्वामी जी महाराज, १००८ हरिशरण स्वामीजी महाराजलगायत प्रतिष्ठित धार्मिक व्यक्तित्वको उपस्थिति छ ।

कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा माघ १ गतेदेखि ३० गतेसम्म महाउत्सव चल्नेछ । चितवनको देवघाटस्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक ईश्वरकृष्णजी महाराजको सङ्कल्पमा महाउत्सव सञ्चालन गरिएको हो । 

माता–पिता सेवा आश्रममा ३६५ कोठा रहनेछन् । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधासम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्सङ्कल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।

यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजले बताउनुभयो । उक्त आश्रम निर्माणका लागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् । १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । 

आश्रमसँगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पत्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताउनुभयो । मन्दिर र आश्रमको गरी कुल लागत करिब दुई अर्ब रुपियाँ खर्च लाग्ने जनाइएको छ । निर्माणाधीन मन्दिरलाई हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको छ । महोत्सवको कार्यक्रम अन्तर्गत गत पुस २४ गते गणेश पूजन, भूमि शोधन र आदिवास पूजन, २५ गते श्री नृसिंह महायज्ञ र महासुदर्शन यज्ञ, पुस २७ गते देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गरिसकिएको छ ।

माघ १ देखि ३० गतेसम्म वेणी सङ्गममा २४ घण्टा निरन्तर हरिनाम सङ्कीर्तनको व्यवस्था गरिनेछ । १०८ जनाद्वारा श्रीमद्भागवत पाठ गरिनेछ । त्यस्तै, एक लाख २५ हजार श्रीफलको हवन, एक लाख शिला पूजन र शिलान्याससमेत गरिनेछ ।  मकर सङ्क्रान्तिको पवित्र अवसरलाई केन्द्रित गर्दै बिहानैदेखि भक्तजनले त्रिवेणी सङ्गममा स्नान गर्दै विभिन्न धार्मिक अनुष्ठानमा भाग लिइरहेका छन् । 

देश–विदेशका ख्यातिप्राप्त कथा वाचकले महोत्सवलाई थप विशेष बनाइएको छ । विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माताजी र युवा कथा वाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुलाई आध्यात्मिक ज्ञान प्रदान हुनेछ । भक्तजनको सुविधाका लागि दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ ।