• २ माघ २०८१, बुधबार

प्रधानमन्त्री कप क्रिकेट

सुदूरपश्चिमको विजयी सुरुवात

blog

उद्घाटन खेलमा टस गर्दै सुदूरपश्चिम र गण्डकीका कप्तान । तस्बिर : क्यान

काठमाडौँ, माघ १ गते । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

धनगढीको फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । जितका लागि गण्डकीले दिएको ५६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ९.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि रेवती धामीले अविजित २१ रन बनाउनुभयो । मनीषा बोहोराले नौ रन बनाउनुभयो । बलिङमा गण्डकीका आकृति तिवारी र अपेक्षा बुढाथोकीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा सात विकेटको क्षतिमा ५५ रन बनादएको थियो । बाक्लो हुसुका कारण टस ढिला भएपछि खेल १५ ओभरमा झारिएको हो । 

गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । गण्डकीलाई सस्तैमा रोक्न बलिङमा सुदूरपश्चिमकी रेवती धामीले चार विकेट लिनुभयो ।

यस्तै ऋतु कनौजिया र जानकी थापाले एक एक विकेट झार्नुभयो ।  रेवती प्लेयर अफ दि म्याच हुनुभयो ।