बाबुराम कार्की
वराहक्षेत्र, माघ १ गते । घर धन्दामै ब्यस्त बन्दैआएका महिला सीप सिकेपछि उद्यमी बनेका छन् । दश वर्षअघिसम्म घर धन्दामै दिन बित्ने उनीहरुको दिनचार्य उद्यमसँगै फेरिएको छ ।
पछिल्लो समय ग्रामीण बस्तीमा सिपमूलक तालिम सिकेर महिला आत्मनिर्भर बन्दा उनीहरुको दैनिकी फेरिदै आएको हो । सधँै घरको काम र खेतिपातिको काममा व्यस्त रहने महिला कटीङ्ग सिकेर कपडा सिलाउन थालेपछि आत्मनिर्भर बन्दै गएका हुन् ।
वराहक्षेत्र १० मङ्गलबारेकी ३९ वर्षीया मेनुका कार्की र वराहक्षेत्र –९ की ३० वर्षीया रुपा लिम्बु दश वर्षदेखि टेलरिङ व्यवसाय गर्दै आउनु भएको छ । एक दशक अघिसम्म के व्यवसाय गर्ने, कसरी घरको दरिलो आयस्रोत बनाउने भन्ने अन्यौलमा रहेको मेनुका कार्की अहिले अरुलाई उद्यम गर्न उत्प्रेरणा दिदैँ आउनु भएको छ ।
गाउँमै सिलाइकटाई तालिम सिकेर आउनुभएकी मेनुका र रुपाले प्रकाशपुर बजारमा टेलरिङ व्यवसायका साथै अनुसा टेलरिङ एण्ड सिलाइ कटाई प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आउनु भएको छ ।
ग्रामीण क्षेत्रमा महिलालाई स्वरोजगार बनाउने र महिलाको आर्थिक सशक्तीकरणमा सिपमूलक तालिमले महिलालाई उद्यमशील बनाउँदैआएको छ । महिलाहरु सीपको उपयोगसँगै आर्थिक सबलतातर्फ उन्मुख हुँदै गएका छन् ।
मेनुका कार्कीले भन्नुभयो, “पहिला घरधन्दा सकिएपछि फुर्सद हुन्थ्यो, अहिले फुर्सदको समय उपयोग गरेर टेलरिङ व्यावसाय गर्दै आएका छौँे । बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काममै लाग्ने गरेका छौँ । काम अर्डरअनुसार हुने हुँदा समयमै सिलएर दिने गरेका छौ ।” रुपा लिम्बुको अनुसार आफ्नै टेलरमा कपडा समेत राखेर टेलरिङ व्यवसाय गर्दा राम्रो फाइदा भएको छ ।
मासिक ६० देखि ८० हजारसम्म कमाई गर्ने गरेको उहाँले बताउनुभयो । टेलरिङ व्यवसायको सुरुवाती चरणमा अरुले ल्याएका कपडा मात्र सिलाउँदै आउनु भएका उहाँहरुले अहिले महिला ग्राहकका चाहनाअनुसारका कपडा राखेर आफै कपडा पनि बेच्न थाल्नु भएको छ ।
“टेलरिङको कमाइले दैनिकि मात्र हैन, परिवारमै खुसी ल्याएको छ । थोरै लगानीबाट थालेको व्यवसायबाट राम्रो आम्दानी हुँदा खुशी लागेको छ” रुपा लिम्बुले भन्नुभयो । काम गर्ने इच्छा शक्ति भए स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उहाँहरुले दिनु भएको छ ।
एउटा चोलो डिजाइन राखेर सिलाउँदा सात सयदेखि हजार रुपियाँसम्म लिने गरेका रुपाको भनाइ छ । हामीले गरेको उद्यमबाट हामी सन्तुष्ट छौं । ‘उद्यम गर्न थालेपछि मन पनि दरिलो हुँदो रहेछ’ रुपाले भन्नुभयो ।
आँफुले उद्यम गर्दा श्रीमानलाई सहयोग पुग्ने गरेको रुपा सुनाउनुहुन्छ । “वैदेशीक रोजगारीमा जानुहुने श्रीमान पनि अहिले घर सम्हालेर बस्नु भएको छ । म व्यवसायमै बिहानदेखि बेलुकासम्म व्यस्त हुने हुँदा श्रीमानले सबै घरको काम धन्दामा सहयोग गर्दै आउनु भएको छ ।”
मेनुका र रुपा दुबै मिलेर टेलरिङ व्यवसाय सम्हाल्दै आउनु भएको छ । मेनुकाले नै रुपालाई सिकाएर टेलरिङ व्यवसायमा ल्याउनुभयो । फष्टाउँदै गएको टेलरिङ व्यवसायबाट उहाँहरुको परिवारका सदस्य मात्र नभइ छिमेकी पनि खुसी छन् । सिलाइ र कटाइको काममा जति लगनशील भएर काम गर्यो त्यति नै ग्राहक सन्तुष्ट हुन्छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा सिलाइकटाई र सौन्दर्य शिक्षामा आकर्षण बढ्दै गएको छ । सिपमूलक प्राविधिक शिक्षाले आत्मनिर्भर र उद्यमी बनाउने भएकाले गाउँघरमा महिलाको आकर्षण सिलाइ कटाईतर्फ बढ्दै गएको छ ।