• २ माघ २०८१, बुधबार

धनुषाधाममा एक महिने मकर मेला सुरु

blog

धनुषाधामस्थित धनुष मन्दिर । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ १ गते । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरु भएको छ । प्रत्येक वर्ष माघ १ माघी सङ्क्रान्तिको दिनदेखि सुरु हुने मकर मेला यस क्षेत्रको सबैभन्दा प्रख्यात मेला हो ।  

जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मेलामा नेपाल तथा छिमेकी देश भारतका गरी लाखौँको सङ्ख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ । धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजन आउने गरेको भए पनि अन्य दिनको तुलनामा मेलामा बढी दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी स्वामी भरत दासको भनाइ छ । 

धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएका कुरा पूरा हुने भएकाले दर्शनार्थीहरुको अत्यधिक भिड लाग्ने गरेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयंवरमा श्रीरामले बाण चलाउँदा तीन टुक्रा भएको थियो । त्यसमध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषाधाममा खसेको धार्मिक मान्यता छ ।

धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख साढे पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावस्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङ्गले रङ्गिने जनविश्वास छ ।

धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन्। यहाँ बर्सेनि धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासको भनाइ छ । यहाँ मङ्सिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ ।

शताब्दियौंदेखि जनविश्वासले गर्दा स्वस्फूर्तरूपमा अध्यात्मिक केन्द्रबिन्दु रहँदै आएको धनुषाधामलाई पर्यटकीय गन्तव्यको रूपमा अगाडी सार्ने काम स्थानीय युवाले गरिरहेको छन् । स्थानीय युवाहरूले अभियानको रूपमा समूह बनाएर धार्मिक महत्वका धनुष सागर र बाणगङ्गा सरोवरलगायतका स्थानको सरसफाइ गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्दै आएका छन् । यस्तै, धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।