काठमाडौं, माघ १ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताउनुभयो ।
मन्त्री भट्टराईले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिक सत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिबद्धता जनाउनुभयो । शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुहुँदै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताउनुभयो । योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
‘‘योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी सङ्कल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापसँग जोडौँ । जसले गर्दा हामीले संस्थागत विद्यालय अर्थात् समृद्ध भएका विद्यालय मात्र होइन, सार्वजनिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थी, जसको मनोविज्ञान र मनोबललाई बढाउन पनि योग र ध्यानले प्रश्रय गरोस् ।,’’ मन्त्री भट्टराईले भन्नुभयो, ‘‘त्यसका लागि अब आउने शैक्षिक सत्रबाट अभ्यासहरु सुरु गर्नुपर्छ । त्यस काममा लाग्नुपर्छ । त्यसप्रति प्रतिबद्ध भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लाग्नेछ ।’’
मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढ्नसके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने उल्लेख गर्नुभयो । शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरुक गरेको भए पनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको बताउनुभयो
‘‘शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय हो । यो राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय छ । शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले मात्रै हामीले समृद्ध समाजको निर्माण गर्नसक्छौँ । शिक्षासँग योग नजोडिकन हामीले समाजलाई समृद्ध बनाउन सक्दैनौँ ।’’