धनगढी समाचारदाता
धनगढी, माघ १ गते । कैलालीमा बाढीले भत्काएको हुलाकी राजमार्ग अहिलेसम्म मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको छ । गत भदौमा आएको बाढीले कैलारी गाउँपालिका–५, बैजपुर र भजनी नगरपालिकाको पुलियापुरनजिक भत्काएको थियो । बाढीले राजमार्ग किनार भत्काउँदै ठुल्ठुला खाल्टा बनाएको छ । ती खाल्टा पुरिएको छैन भने भत्केको किनार पनि मर्मत गरिएको छैन ।
भत्केको राजमार्ग मर्मत नहुँदा सवारीसाधन दुर्घटनाको उच्च जोखिम रहेको बैजपुरकी कविता चौधरीले बताउनुभयो । राजमार्ग भत्केको धेरै दिन भए पनि मर्मतका लागि सम्बन्धित निकायले ध्यान नदिएको उहाँको गुनासो छ । कटैनी नदीबाट ओभरफ्लो भएको बाढीले राजमार्ग भत्काएको थियो । भत्केको राजमार्ग मर्मतका लागि हुलाकी राजमार्ग आयोजनाको कार्यालयलाई आग्रह गरिएको वडा अध्यक्ष विष्णुप्रसाद चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हुलाकी राजमार्गमा स्थानीय सरकारले काम गर्न मिल्दैन । त्यसैले भत्केको राजमार्ग मर्मतका लागि हामीले आयोजनाको कार्यालयलाई आग्रह गरेका छौँ । राजमार्ग स्तरोन्नति हुने भएकाले हुलाकी राजमार्ग आयोजनाको कार्यालयले तत्काल केही गरेको छैन ।”