• १ माघ २०८१, मङ्गलबार

नरहरि पर्वमा कागलाई सेलरोटी

तरुल खन्न र उखु पेल्न व्यस्त स्थानीय

blog

नरहरि पर्वका लागि कोलमा उखु पेल्दै बैतडीका स्थानीय  । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, माघ १ गते  । बैतडी, दार्चुला र डडेलधुरामा कागलाई सेलरोटी दिएर मनाइने नरहरि पर्व (माघेसङ्क्रान्ति) ले गाउँमा चहलपहल बढाएको छ । नरहरिका लागि पुस मसान्तको दिनभरि तरुल खन्ने, उखु पेल्ने र राति सेलरोटी पकाउने चलन छ । नरहरिको बिहान नजिकको कुवा र नदीमा स्नान गरेर कागलाई सेलरोटी खान दिइन्छ । यो दिन पराइ घर गएकी छोरीलाई माइतमा बोलाएर मिठोमसिनो परिकार खुवाउने चलनसमेत छ । 

नरहरिको बिहान घरको घुरीमा सेलरोटी राखेर “का कौवा.. मेरो रोटी खा..” भन्दै कागलाई बोलाउने चलन छ । काग अघाएपछि सेलरोटी लुकाएको हेर्न बालबालिका दगुरेर जाने गर्छन् । कागले लुकाएको सेलरोटी फेला पारेर गाईलाई खान दिए माली बाच्छी जन्मिने जनविश्वाससमेत रहेको पाइन्छ ।  

सुदूरपश्चिमको बैतडीलगायतका जिल्लामा कागलाई वर्षमा दुई पटक (तिहार र नरहरि पर्वमा) सेलरोटी खान दिने चलन रहेको धार्मिक अगुवा ज्योतिष पं. गणेशप्रसाद पन्तले बताउनुभयो । उहाँले नरहरि पर्व (मकर सङ्क्रान्ति) का दिन सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ प्रवेश गर्ने हुनालो शुभ समय मानिने बताउनुभयो । शास्त्र अनुसार उत्तरायणलाई देवताहरूको दिन र दक्षिणायनलाई रात मानिने पन्तले बताउनुभयो । उत्तरायणकाल धार्मिक र आध्यात्मिक कार्यका लागि विशेष लाभदायक मानिने हुनाले नरहरिका दिन स्नान, दान, जप, तप र पूजापाठ गर्नाले जीवनमा पवित्रता र पुण्य प्राप्त हुने पन्तले बताउनुभयो । 

नरहरि पर्वलाई देशभर माघेसङ्क्रान्तिका रूपमा मनाउने चलन भए पनि सुदूरपश्चिमको तराईका थारू समुदायले माघी, पहाडका बैतडी, दार्चुला र डडेलधुरामा नरहरि पर्वका रूपमा बनाइन्छ । त्यसै गरी डोटी र अछाममा ‘रनपुतला’ पर्वका रूपमा मनाइने गरेको स्थानीय शिक्षक पदम विश्वकर्माले बताउनुभयो । बाजुरामा चेलीत्यार र बझाङमा माघीत्यार पर्वका रूपमा मनाइने गरेको बझाङका स्थानीय पत्रकार जगदीश रोकायाले बताउनुभयो । यो दिन पकाइने परिकारले शरीरको चिसो हटाउन मद्दत पुग्ने बैतडीवासीको जनविश्वास छ । खासगरी स्थानीय कोलमा उखु पेलेर तामाको भाँडामा गुड पकाएर खाएमा शरीरलाई ऊर्जा प्राप्त हुने सामाजिक अगुवा एवं शिक्षक टङ्कप्रसाद भट्टले बताउनुभयो ।  यतिबेला गुडको मागसमेत बढ्ने गरेको उहाँले बताउनुभयो । गुड, तिललगायत तरुल जस्ता कन्दमूलले शरीरलाई ऊर्जा प्राप्त हुने आयुर्वेदिक औषधालयका भोजराज भट्टले बताउनुभयो । माघ महिना धार्मिक महिना भएकाले तीर्थाटन गर्ने, दान दिने, ध्यान र जप, तप गर्ने सामाजिक परम्परा रहेको संस्कृतिका जानकार, महाकाली साहित्य सङ्गम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताउनुभयो ।