• १ माघ २०८१, मङ्गलबार

परशुरामधाममा मकर स्नान मेला

blog

परशुरामधाम क्षेत्रस्थित कालीनदी किनारमा निर्माण गरिएको परशुराम बाबाको ५४ फिट अग्लो मूर्ति । मकरसङ्क्रान्तिमा यहाँ तीर्थालुहरू मेला भर्न आउँछन् । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, माघ १ गते । नेपालका चार वटा धाममध्येको एक धाम कालीनदी किनारमा रहेको परशुरामधाममा प्रत्येक वर्ष मकरसङ्क्रान्तिका दिन मेला लाग्ने गर्छ । भित्री मधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका–५, परिगाउँस्थित नेपाल–भारत सीमा कालीनदी किनारमा रहेको परशुरामधाम भगवान् परशुरामले ध्यान गरेको जनविश्वास रहँदै आएको छ । 

हिन्दु मान्यता अनुसार भगवान् विष्णुका १० अवतारमध्ये परशुराम छैटौँ अवतार भएको विश्वास छ । सप्तऋषिमध्येका एक जमदग्नीका छोरा परशुराम भएको मानिन्छ । उहाँले  भगवान् शिवको तपस्या गर्दा भगवान् खुसी भएर बन्चरो उपहार दिएको किंवदन्ती छ । त्यसैले परशुरामलाई बन्चरो बोक्ने राम पनि भनिन्छ ।  यही क्षेत्रमा उहाँले भीष्मपितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाउनुभएको र भगवान् रामले पनि त्यहीँ समाधि लिएको विश्वास गरिन्छ । 

मकरसङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेलधुराबाट मात्रै १६ वटा शिवालयका देउरा लगिन्छ । (देउरा भनेका चल देवता अर्थात् सुनचाँदीका आभूषणसहित शङ्ख, घण्टा, नेजाध्वजा हुन्) । देउरालाई स्नान गराइन्छ । खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथ, घटाललगायतका देउरा लगिन्छ । देउराहरू स्नान गर्ने अलग अलग घाट छन् । देउरालाई देवघाटमा सामूहिक स्नान गराइन्छ । परशुराम क्षेत्र विकास पूर्वअध्यक्ष पण्डित कैलाशकुमार पाण्डेयले विष्णुको छैटौँ अवतारका रूपमा परशुरामले हैयवंशी क्षेत्रीहरूको २१ पटकसम्म संहार गरेपछि यस क्षेत्रमा आएर तपस्या गर्दै यज्ञ गरेको स्कन्दपुराणमा उल्लेख भएको बताउनुभयो । यसका अतिरिक्त सतीदेवीको पूर्ण अङ्ग पतन भइसकेपछि भगवान् शिव यही धाममा आएर तपस्या गरेको पनि बताइन्छ । धर्मराज युधिष्ठिरले यज्ञसहित द्वारसमेत निर्माण गरेको जनविश्वास रहिआएको छ । महाकाली नदी विभिन्न रत्नद्वारा प्रशोधित भएर बग्ने भएकाले त्यसको जल सेचन हुँदा ऊर्जा प्राप्त हुने जनविश्वास रहेको छ ।

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक हिमालबाट बग्ने महाकाली नदी नेपालको कञ्चनपुर भएर बग्छ । महाकाली नदीमा बायाँबाट निस्केर मिसिने प्रत्येक खोला नदी तीर्थस्थल हुन् भनेर स्कन्दपुराणको मानसखण्डमा उल्लेख गरिएको छ । यी स्थानमा श्राद्ध तर्पण, स्नान गर्नाले कोटी कुलको उद्दार हुने गरेको भन्ने उल्लेखसमेत गरिएको छ ।

करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको परशुरामधाम क्षेत्रमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने वरपिपलको रुखसमेत देख्न पाइन्छ । हाल परशुरामधाममा परशुराम बाबाको ५४ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । यहाँको गुरु योजना अनुसार मूर्ति बनाइएको परशुराम नगरपालिकाका प्रमुख जोशीले बताउनुभयो । परशुरामधाम क्षेत्र संरक्षण र विकास समिति अध्यक्ष मीनबहादुर चन्दले गुरुयोजनाको दोस्रो चरण अन्तर्गत स्नानघाट निर्माण, तटबन्ध, सडक बनाइने बताउनुभयो । परशुरामधाममा पूर्वाधार निर्माणका लागि ८० करोड रुपियाँ लागतको गुरुयोजना बनाइएको थियो । पहिलो चरण अन्तर्गत सहरी विकास मन्त्रालयको २० करोड रुपियाँको लागतमा भौतिक पूर्वाधार निर्माणको काम भएको छ । महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेलधुराको सदरमुकाम खलङ्गादेखि ९० किलोमिटर र कञ्चनपुरको महेन्द्रनगरबाट ३९ किलोमिटरको दुरीमा सडकमार्गबाट पुग्न सकिन्छ ।