चितवन समाचारदाता
चितवन, माघ १ गते । देवघाटधाममा माघेसङ्क्रान्ति मेला सोमबारदेखि सुरुभएको छ । पुस महिनाको अन्तिम दिनको साँझबाट माघ १ गते साँझसम्म मकर सङ्क्रान्ति मेला लाग्ने गर्दछ । सोमबार दिउँसोदेखि देवघाटधाममा भक्तजनको भिड लागेको छ ।
गोसाइँकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटधामलाई पवित्रस्थल मानिन्छ । मेलामा सहभागी हुन चितवनलगायत देशका विभिन्न जिल्ला र भारतबाट समेत धर्मावलम्बीहरू आउने क्रम जारी छ । माघेसङ्क्राान्तिका दिन देवघाटको वेणी सङ्गममा स्नान गर्न भक्तजनको ठुलो भिड लाग्ने गर्छ ।
माघेसङ्क्रान्ति मेलालाई सुरक्षित र व्यवस्थित बनाउनका लागि चितवन र तनहुँतर्फ सबै तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले जानकारी दिनुभयो । मेलालाई व्यवस्थित पार्नका लागि समितिका अध्यक्ष रानाको संयोजकत्वमा १५१ सदस्य माघेसङ्क्राान्ति मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ ।
चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत गर्ने काम सम्पन्न भएको छ भने तीर्थस्थलमा मासु र मदिरा निषेध गरिएको छ । डुङ्गामार्फत नदी पार गर्न चाहने भक्तजनका लागि एकतर्फी प्रतिव्यक्ति ५० रुपियाँ भाडादर तोकिएको छ ।
मेलामा जाने सवारीसाधन आँपटारी–रामनगर र रामनगर–ठिमुरा हुँदै देवघाट प्रवेश गर्ने छन् भने वागेश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको माघेसङ्क्राान्ति मेला व्यवस्थापन मूल समितिका संयोजक रानाले जानकारी दिनुभयो । मेलालाई सुरक्षित र व्यवस्थित गर्न १६० जना स्वयंसेवक र पाँच सय जना सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । पर्याप्त सङ्ख्यामा अस्थायी शौचालय र सीताराम संस्कृत माविको प्राङ्गणमा पार्किङको व्यवस्था मिलाइएको छ । देवघाट जान र फर्कन अलग्गै सडकको व्यवस्था गरिएको छ ।