बनेपा समाचारदाता
बनेपा, माघ १ गते । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सोमबार आयोजना गरेको विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी अन्तर्क्रियामा गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको जानकारी गराइएको हो ।
कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले आव २०७९/८० को तुलनामा गत आवमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत र प्रयोग कम भएको बताउनुभयो । उहाँले गत आवमा काभ्रेपलाञ्चोक जिल्लामा किटनाशक धुलो/दानादार विषादी १० हजार पाँच सय किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो/दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी १० हजार ३० लिटर, झारनाशक धुलो/दानादार तीन हजार पाँच सय किलोग्राम र तरल विषादी चार हजार तीन सय लिटर खपत भएको जानकारी दिनुभयो ।
त्यस्तै जैविक विषादी धुलो/दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो÷दानादार विषादी २५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको भन्दै कार्यालय प्रमुख दवाडीले गत आवमा कुल धुलो/दानादार विषादी ५३ हजार दुई सय किलोग्राम र तरल विषादी २६ हजार ३३० लिटर खपत भएको बताउनुभयो ।
त्यस्तै गत आवमा सिन्धुपाल्चोक जिल्लामा कीटनाशक धुलो/दानादार विषादी चार हजार ४०५ किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलो/दानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार ३२५ लिटर, झारनाशक धुलो/दानादार आठ सय किलोग्राम र तरल विषादी एक हजार ९२० लिटर खपत भएको छ । यस्तै सिन्धुपाल्चोकमा जैविक विषादी धुलो/दानादार चार सय किलोग्राम, तरल विषादी ९१५ लिटर र अन्य धुलो/दानादार विषादी २५० किलोग्राम र ३१२ लिटर तरल विषादी खपत भएको थियो ।
दवाडीले गत आवमा सिन्धुपाल्चोकमा धुलो/दानादार विषादी २० हजार ८७५ किलोग्राम र तरल विषादी ११ हजार ४७२ लिटर खपत भएको बताउनुभयो । कार्यालयका अनुसार आव २०७९/८० मा काभ्रेपलाञ्चोक जिल्लामा धुलो/दानादार विषादी ५६ हजार १६० किलोग्राम र तरल विषादी २८ हजार ९६४ लिटर र सिन्धुपाल्चोक जिल्लामा धुलो/दानादार २३ हजार १७५ किलोग्राम र तरल विषादी १५ हजार ७७० लिटर खपत भएको थियो ।
उहाँले आव २०७९/८० को तुलनामा पछिल्लो आव २०८०/८१ मा काभ्रेपलाञ्चोकमा कीटनाशक तरल विषादी, झारनाशक धुलो/दानादार विषादी, जैविक विषादी धुलो/दानादार र तरल र अन्य तरल विषादीको प्रयोग भने बढेको बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्लामा कीटनाशक तरल विषादी, जैविक धुलो/दानादार र तरल विषादीको प्रयोग बढेको बताउनुभयो । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा बिउबिजन तथा विषादी विक्रेताको सङ्ख्या १३६ रहेको छ ।