गोरखापत्र समाचारदाता
काठमाडौं, माघ १ गते । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ । कोषको सोमबार राजधानीमा बसेको ३०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गरेको हो ।
त्यसै गरी साधारण सभाबाट आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित भएको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले कोषको कार्यक्रमको थप प्रवद्र्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताउनुभयो । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढङ्गगले बढाइने जानकारी उहाँले दिनुभयो । कोषको सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने र लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सेयरधनीबाट उठाइएका जिज्ञासा तथा सुझावबारे विस्तृत रूपमा जानकारी गराउनुभयो । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता (एआई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो । साधारणसभामा प्रस्तुत विवरण अनुसार आव २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ६१ अर्ब रुपियाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब ५० अर्ब रुपियाँ लगानी गरेको छ ।