• १ माघ २०८१, मङ्गलबार

जापानका राजदूतको आगमन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । नेपालका लागि जापानका तर्फबाट राजदूत नियुक्त हुनुभएका मायडा तोरू पदभार समाल्न नेपाल आइपुग्नुभएको छ । सोमबार आफू राजदूतका रूपमा नेपाल आइपुगेको जानकारी उहाँले गराउनुभएको छ । 

जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा आइपुग्दा आफूलाई खुसी लागेको राजदूत तोरूले जानकारी दिनुभएको छ । नेपालस्थित जापानको दूतावासमार्फत आफू आएको जानकारी दिँदै उहाँले नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्नुभयो । गत वर्ष मे महिनामा तत्कालीन विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण आदानप्रदान भएको पनि उहाँले सम्झनुभएको छ ।

दुई देशबिचको सम्बन्धलाई अझ राम्रो बनाउन यस अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । नेपालको आर्थिक विकासको सन्दर्भमा जापानले धेरै वर्षदेखि सरकारदेखि तल्लो तहसम्मका विभिन्न तहमा पूर्वाधार, कृषि र शिक्षालगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उहाँले स्मरण गर्नुभयो । जापानको ज्ञान र प्रविधिलाई नेपालको विकासमा उपयोग गर्न र नेपाली जनतामा जापानी जनताको सद्भावना पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।