• १ माघ २०८१, मङ्गलबार

थारु गाउँ-बस्तीमा माघी पर्वको रौनक

blog

मघौटा नाच नाचेर रमाउँदै थारु महिला । तस्बिर सौजन्यः भरतविक्रम शाह

अविनाश चौधरी

धनगढी, पुस २९ गते । थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । गाउँ गाउँमा जिता मारिएका छन् । बालबालिकादेखि वृद्धावृद्धासम्म रमाइरहेका छन् । माघ सम्बन्धित गीतले थारु बस्ती गुञ्जायमान बनेको छ । 

माघ थारु समुदायको सबैभन्दा ठुलो पर्व र नयाँ वर्ष पनि हो । भोलिदेखि थारु सम्वत २६४८ सुरु हुँदैछ । थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघ पर्व धुमधामपूर्वक मनाउने चलन रहेको छ । यस दिन विहानै जिता मार्ने गरिन्छ । हरेकको घरमा सुङ्गुरको मासुसहित मिठा परिकार पाक्ने गर्दछ । 

यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठा परिकार खाने चलन रहेको रहेको छ । माघको पहिलो दिन थारु सम्वतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरिको दुःखपीडा बिर्सेर रमाउने परम्परा रहेको छ ।  

जिता मारेसँगै गाउँघरमा माघको चहलपहल बढेको धनगढी उपमहानरपालिका –५ जाइँका भलमनसा कुलवीर चौधरीले बताउनुभयो । उहाँले आजदेखि तीन दिनसम्म थारु बस्ती माघमय रहने जानकारी दिनुभयो । 

माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस विहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोग सलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्शाउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । 

यसैगरी, मासु, ढिक्री, तरुल लगायतको परिकार खाने र आफन्तहरुलाई खुवाउने गरिन्छ । यस दिन एकअर्कालाई सेवाढोग गरेमा रिसराग, आपसी वैमनस्यताको अन्त्य हुने विश्वास थारु समुदायमा रहेको छ । 

माघ २ गते अर्थात माघ पर्वको खोज्नीबोज्नी  गर्ने दिन हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षको लागि योजना बनाउने गरिन्छ । यसैगरी, यहि दिन गाउँको नेतृत्व गर्ने व्यक्ति वरघर चयन गर्ने चलन पनि रहेको छ । माघ पर्वको अन्तिम दिन आफ्ना विवाहित छोरीचेलीलाई उपहारको रुपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ । 

माघ पर्व सकिएसंगै थारु समुदायमा विवाह, नयाँ घर बनाउने लगायतका कामको सुरुवात हुने गर्दछ । माघ धार्मिक, साँस्कृतिक, सामाजिक र आर्थिक महत्व बोकेको पर्व रहेको थारु अगुवा दिलबहादुर चौधरीको भनाइ छ ।